प्रेरक प्रसंग : धार्मिक पुस्तकको महत्व

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

एकपटक एउटा रेलमा केही यात्रु यात्रारत थिए । उनीहरूमध्ये कोही आपसमा कुराकानी गर्दै थिए भने कोही बाहिरतिर हेरिरहेका थिए । तीमध्ये एकजनाचाहिँ चुपचाप एक निकै पुरानो धार्मिक किताब पढिरहेका थिए । यात्रुको भिडमा एकजना विज्ञानका प्राध्यापक पनि थिए । उनले पुस्तक पढिरहेका यात्रुलाई भने– तपाईं लामो समयदेखि धार्मिक पुस्तक पढिरहनुभएको छ । पुस्तक पढ्ने यात्रुले जवाफ दिए, हो । प्राध्यापकले सोधे– यो पुस्तक कति पुरानो होला ? ‘हजारौँ वर्ष !’ यत्ति जवाफ दिएर उनी पुन: पढ्नमै व्यस्त भए । 

प्राध्यापकले पुन: आफ्नो प्रश्न जारी राखे, हजारौँ वर्ष पुरानो धार्मिक किताब तपाईंलाई के काम लाग्छ ? तपाईं यो बेकारको किताब पढेर समय बर्बाद गरिरहनुभएको छ । अहिले हरेक दिन विज्ञानले अत्यन्त ठुलो विकास गरिरहेको छ । तपाईं भने विज्ञानका पुस्तक पढ्नुको साटो यस्ता पुराना धार्मिक किताब पढ्दै हुनुहुन्छ । अब यस्ता बेकारका पुस्तक छाड्नुहोस् र विज्ञानका किताब पढेर वैज्ञानिक उन्नतिबारे बुझ्ने कोसिस गर्नुहोस् । प्राध्यापकले आफ्नो परिचय आफैँ दिए– म एक विज्ञानको प्राध्यापक हुँ। म वर्षौँदेखि विज्ञान पढाउँदै छु । त्यसैले, तपाईंजस्ता मानिसले विज्ञानका पुस्तकका साटो धार्मिक पुस्तक पढेको देख्दा मलाई निकै पीडा हुन्छ । यस्तै संवाद चल्दाचल्दै अघिल्लो स्टेसन आइपुग्यो । सबै यात्रु उत्रिने तयारी गर्न लागे । पुस्तक पढिरहेका यात्रुले पनि पुस्तक बन्द गरेर झोलामा राखे । रेलबाट झर्नुअघि ती विज्ञानका प्राध्यापकले धार्मिक पुस्तक पढ्ने यात्रुसित उनको नाम सोधे । उनले हल्का मुस्कुराउँदै जवाफ दिए– महाशय, म थोमस एल्बा एडिसन हुँ। 

उनको जवाफ सुनेर संसारभरमै सबैभन्दा बढी आविष्कार गर्ने वैज्ञानिकलाई नै विज्ञानको उपलब्धि र महत्व बुझाइरहेका प्राध्यापकको बोली बन्द भयो । त्यसपछि एडिसनले भने– मलाई शोधका क्रममा हात लाग्ने असफलतासित जुध्न यस्तै धार्मिक पुस्तकबाट शक्ति प्राप्त हुन्छ । कुनै पनि पुस्तक कति पुरानो हो, कहिले र कसले लेखेको हो भन्ने तथ्यले भन्दा पनि त्यसले कति प्रेरणा दिन्छ, त्यो बढी महत्वको हुन्छ । 

सुझावित समाचार