अस्ट्रेलियन ब्याटर क्रिस लिनको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६९ रन बनायो।
सुदूरपश्चिमको लागि ३५ वर्षीय अस्ट्रेलियन ओपनिङ ब्याटर लिनले सर्वाधिक ७५ रन बनाए। ५६ बलमा पाँच चौका र ३ छक्का हिर्काएपछि उनी रिटायर्ड हर्ट भए। उनले एनपिएलमा पहिलो अर्धसतक बनाउने क्रममा ४२ बलमा तीन चौका र २ छक्का हिर्काएका हुन्।
अर्का ओपनर विनोद भण्डारीले १७ ओभरमा २१ रन बनाए। २ चौका र १ छक्का हिर्काएका विनोदलाई रञ्जित कुमारले अमर रौटेलाबाट क्याच आउट गराएका थिए। पहिलो विकेटको लागि विनोद र लिनबीच ३५ बलमा ४५ रनको साझेदारी भएको थियो। पाँचौं विकेटको लागि आरिफ शेख र लिनबीच पनि २५ बलमा समान ४५ रनकै साझेदारी भएको थियो। आरिफ र कप्तान तथा मार्की दीपेन्द्र सिंह ऐरीले समान २४ रन बनाएका थिए।
चौथो नम्बर क्रिजमा आएर १३ रन बनाएका पुनित मिश्राको विकेट सैफ जैवले लिए। ३७ वर्षीय भारतीय बायाँ हाते ब्याटर पुनितले डेब्यु खेल स्मरणीय बनाउन सकेनन्। यसअघि ४ बलमा एक रन जोडेका इशान पाण्डेलाई पनि जैवले डेविड मालमबाट क्याच गराएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका अलरान्डर हर्मित सिंह पनि मात्र एक रन बनाउँदा आउट भएका थिए।
चितवनको लागि जैवले दुई तथा रञ्जित कुमार र पहिलो खेल खेलिरहेका जर्ज स्क्रिमशवले समान एक विकेट लिएका थिए। उनले सोहेल तनवीरको स्थान लिएका हुन्। चार ओभर नै बलिङ गरेका कुशल मल्ल र रिजन ढकाल विकेट विहिन भए।
सुदूरपश्चिम प्रतियोगितामा आफ्नो अपराजित यात्रा छैटौं खेलसम्म कायम राख्ने योजनामा छ। यसअघि टोलीले पाँचै खेलमा जित निकालेको छ। सुदूरले पहिलो खेलमा काठमाडौंलाई २९ रन, दोस्रो खेलमा पोखरालाई १८ रन, तेस्रो खेलमा कर्णालीलाई ४५ रन, चोथो खेलमा लुम्बिनीलाई ७ विकेट तथा पाँचौं खेलमा जनकपुरलाई ६ विकेटले हराएको थियो।
चितवन भने तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायमै राख्ने तयारीमा छ। पहिलो खेलमा कर्णालीलाई ४ विकेटले हराएको चितवनले तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको थियो। टोली दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेट तथा चौथो खेलमा काठमाडौंसँग ५३ र पाँचौं खेलमा जनकपुरसँग ६ विकेटले पराजित भएको थियो।
आज नै भएको पहिलो खेलमा पोखरालाई हराउँदै काठमाडौ पहिलो पटक प्लेअफलाई छनोट भएको छ।