१३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २५ मंसिरदेखि

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

विश्वभरका मानव अधिकारकेन्द्रित चलचित्रहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २५ मंसिरदेखि काठमाडौंमा हुने भएको छ।

मंसिर २९ गतेसम्म चल्ने पाँचदिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको छ। महोत्सवका दौरान नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा २६ देशका ५० चलचित्र प्रदर्शन गरिनेछन्।

महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिन, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागिता जनाइसकेका छन्।

कान्स फिल्म फेस्टिभल २०२५ अन्तर्गत पाल्मे डी ओर (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’ महोत्सवको प्रमुख आकर्षण हुनेछ। प्यालेस्टाइन, फ्रान्स र ग्रीसको सहनिर्माणमा बनेको यस फिल्मले बाल्यकालीन रहस्य र आघातलाई लिएर दुई दाजुभाइबिच निम्तिएको गहिरो तनावलाई देखाउँछ।

कान्समै प्रिमियर भएको ‘नाभी लिली’ महोत्सवको अर्को आकर्षण हो। चीनको युनान प्रान्तस्थित नाै वर्षीया लिलीको साधारण जीवनमा अचानक एउटा घटनाले ल्याएको क्षतिलाई यस चलचित्रले देखाउँछ।

बजिका भाषामा बनेको पहिलो फिचर फिल्म ‘आजुर’ पनि यस महोत्सवमा देखाइनेछ। यसले ग्रामीण बिहारमा सामाजिक अवरोधहरूको विरुद्धमा विद्यालय जान कटिबद्ध रहेकी सलोनी नामक पात्रमार्फत शिक्षाको महत्त्वलाई दर्शाउँछ।

फिचर वृत्तचित्र खण्डमा ‘रेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम’लगायत विश्वचर्चित वृत्तचित्र देखाइनेछ।  ‘रेडलाइट टु लाइमलाइट’ले कोलकाताका यौनकर्मीको दैनिक जीवनलाई पर्दामा उतारेको छ। ती यौनकर्मीका छोराछोरीमा सिनेमा निर्माणसम्बन्धी तालिमले ल्याएको आशा र परिवर्तनलाई यसले देखाएको छ। यो फिल्म ४१औँ आइडिए अवार्डसमा दुई विधामा मनोनीत भएको थियो।

महोत्सवका क्रममा विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानव अधिकारकर्मीहरूको उपस्थितिमा अन्तर्क्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिने नेपाल मानव अधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले बताए।

सुझावित समाचार