युक्रेन युद्ध अन्त्य गर्ने विषयम शीर्ष अमेरिकी प्रतिनिधि र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मस्कोमा भएको वार्ता निष्कर्षविहीन रह्यो । विशेषत: युक्रेनी भूभागको नियन्त्रणलाई लिएर असमझदारीका कारण छलफल टुंगिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिब विट्कोफ र ट्रम्पका ज्वाइँ जेर्ड कुसनरले मंगलबार मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए । पछिल्लो समय संयुक्त राज्य अमेरिकाले युक्रेन युद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि मध्यस्थता गर्न खोजिरहेको छ । पुटिन र अमेरिकी प्रतिनिधिबिचको छलफल लगभग पाँच घण्टा चलेर मध्यरातपछि समाप्त भएको स्रोतले बतायो ।
‘सहमतिको विन्दु फेला नपारिएको भए पनि केही अमेरिकी प्रस्तावमा थप छलफल गर्न सकिन्छ,’ बैठकमा सहभागी शीर्ष क्रेमलिन सहयोगी युरी उसाकोभले भने । छलफललाई धेरै उपयोगी र रचनात्मक भन्दै उसाकोभले अझै ‘वासिंगटन र मस्को दुवैमा धेरै काम गर्न बाँकी रहेको’ बताए ।
वासिंगटनले केहीअघि तयार पारेको २८–बुँदे मस्यौदा रुसअनुकूल रहेको युक्रेन र यसका सहयोगीहरूले आलोचना गरेपछि अद्यावधिक गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डल पछिल्लो संशोधित मस्यौदाबारे छलफल गर्न रुस पुगेको थियो ।
रुसले पछिल्लो मस्यौदा ‘अस्वीकार्य’ भएको बताए । अमेरिकी अधिकारीहरूसँगको बैठकअघि, पुटिनले एक लगानी मञ्चमा सम्बोधन गर्ने क्रममा युरोपले युद्ध चाहेको भए ‘आफ्नो राष्ट्र लड्न तयार रहेको’ चेतावनी दिए ।
सुरुको अमेरिकी शान्ति प्रस्तावमा, रुसी मागअनुरूप युक्रेनी सेनाको आकारमा सीमा तोक्ने, सम्पूर्ण दोनबास क्षेत्र रुसलाई बुझाउने र जापोरिजिया–खेरसनमा मस्कोको सेना राख्ने विषय समावेश गरिएको थियो । किभले यस्ता छुट ‘आत्मसमर्पण’ बराबर हुने भन्दै अस्वीकार गर्ने बताएको छ ।