उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णु खड्काका अनुसार सप्तरी कञ्चनरूप नगरपालिका– ९ बस्ने वर्ष २४ का शिवशंकर राम पक्राउ परेका हुन् ।
गाँजा बोकेर बेलका नगरपालिकाको रामपुरबाट सप्तरीको कञ्चनरूपतर्फ जाँदै गरेको प्र.२–०१–००३ प २९३५ नम्बरको मोटरसाइकलसहित राम पक्राउ परेका हुन् । पक्राउ परेका रामलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।