- मेलाको उद्देश्य समग्र पर्यटन प्रवर्द्धन, औद्योगिक उत्पादन र उपभोक्ताबिच प्रत्यक्ष भेटघाट गराउनु
‘लगानीको संवर्द्धन : उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पोखरामा नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनासँगै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा सुरु भएको मेला २१ मंसिरसम्म चल्नेछ । नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उक्त मेलाको उद्घाटन गरे । मेलालाई यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन, औद्योगिक उत्पादन र उपभोक्ताबिच प्रत्यक्ष भेटघाट गराउने उत्सवको रूपमा आयोजकले लिएको आयोजक संघ पोखराका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।
पोखरा– ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा डोमतर्फ ७८ सहित एक सय २० वटा स्टल रहेको कार्कीले बताए । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत मेलाले सघाउ पुर्याउने दाबी कार्कीले बताएका छन् । मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीसँगै प्रदेशमा पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको उनले बताए । क्यान नेपाल महासंघ, कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्दै मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गरेको कार्कीको भनाइ छ ।
मेलामा क्यानसँग आबद्ध तथा सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानले पछिल्लो समयका प्रविधि, दैनिक जीवनलाई अझ सरल बनाउने उपकरण प्रदर्शनी तथा बिक्रीका लागि राखिएको क्यान–कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए । सूचना प्रविधिसम्बन्धी नविनतम जानकारीका लागि मेला सर्वोत्कृष्ट थलो बन्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए । मेलालाई सबैको बनाउनका निम्ति औद्योगिक उत्पादन, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूको गतिविधिलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानको बिक्री–वितरणको व्यवस्थासमेत मिलाइएको आयोजक संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम, गण्डकी क्षेत्रका परम्परागत सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको उनले बताइन् । प्रवेश नि:शुल्क रहेको मेलामाअन्तर्गत उद्यमशीलता प्रवर्द्धन, लगानी मैत्री नीति निर्माण, नवप्रवर्तन, सूचना प्रविधि, कृषिसँग सम्बन्धित परिसंवाद कार्यक्रमसमेत सञ्चालन हुनेछन् । मेलाबाट अनुमानित ५० लाख आम्दानी र ४५ लाख संचलन खर्च गरी पाँच लाख बचत हुने अनुमान आयोजकको रहेको छ । बचत रकम उद्यमशीलता प्रवर्द्धन गर्न तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि खर्च गरिने संघले जनाएको छ ।
हरेक आन्दोलनमा निजी क्षेत्र निसानामा : ढकाल
मेलाको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निसाना बन्दै आएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो क्रममा भएको जेन–जी आन्दोलनमा समेत निजी क्षेत्र निसानामा पर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो ।
आन्दोलनबाट निजी क्षेत्रले धेरै क्षति व्यहोर्नुपरेको भन्दै ढकालले २४ भदौमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कडा कारबाहीको मागसमेत गरे । उनीहरूलाई कारबाही नगरेसम्म निजी क्षेत्रले लगानी गर्न नसक्ने उनको धारणा थियो । ‘यसरी निजी क्षेत्र तोडफोड, आगजनी, लुटपाट गर्नेलाई छिटोभन्दा छिटो उनीहरूको खोजी गरी आवश्यक कारबाही गर्नुपर्छ,’ ढकालको माग छ ।
‘विगतदेखि नै निजी क्षेत्रले भ्रष्टाचार र सुशासनका लागि आवाज उठाउँदै आएको छ । गलत घुसपैठ र उक्साहटका कारण निजी क्षेत्र सधैँ निसानामा पर्नु र आक्रमण हुनु दुर्भाग्यपूर्ण छ,’ अध्यक्ष ढकालको भनाइ थियो ।
फरक प्रसंगमा ढकालले निजी क्षेत्रको पहलमा १० अर्ब रुपैयाँ पुँजीबाट नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरेको बताए । अब यसमार्फत ५० अर्ब रुपैयाँसम्मका ठुला परियोजना अघि बढाउन सक्ने भनाइ उनको थियो । नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्न निजी क्षेत्र आफैँ अग्रसर भएर दीर्घकालीन योजना अघि बढाएको बताए ।