एनपिएल : आज दुई खेल हुँदै

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबिच बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महत्वपूर्ण खेल हुँदै छ । जितले १० अंक जोड्दै काठमाडौं पहिलोपटक प्लेअफमा पुग्नेछ । हारले काठमाडौं ८ अंकमै सीमित हुनेछ । त्यसपछि काठमाडौंको प्लेअफमा पुग्न अन्य टोलीको नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । पछिल्लो समय काठमाडौं उत्कृष्ट फर्ममा छ । उसले लगातार तीन खेल जित्दै दोस्रो स्थान बलियो बनाएको हो । पोखराले भने मिश्रित प्रदर्शन गरेको छ । पोखराले लगातार दुई खेल गुमाएको थियो । त्यसपछि तेस्रो र पाँचौँ खेलमा जित निकाली पोखराले प्लेअफ आशा जीवितै राखेको हो । पछिल्लो खेलमा पोखराले कर्णाली याक्समाथि सानदार जित निकालेको थियो । 

एडम रोसिंटन र इंग्ल्यान्डका पूर्वखेलाडी ज्यासन रोय पनि आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । ज्यासन र एडमले आक्रामक ब्याटिङ गर्दा काठमाडौंले ठुलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ । विदेशी र स्वदेशी खेलाडीमाथि निर्भर रहेको पोखराले काठमाडौंलाई निराश बनाउँदा ६ अंकका साथ प्लेअफ आशा बलियो बनाउनेछ । त्यसपछि पोखराले आफ्नो अन्तिम खेल चितवन राइनोजविरुद्ध खेल्नेछ । काठमाडौंले भने लगातार तीन खेलमा ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरेको छ ।

पहिलो संस्करणको एनपिएलमा सुदूरपश्चिम रोयल्स लिग चरणमा एक मात्र खेलमा पराजित भएको थियो । १५औँ खेलमा सुदूरपश्चिममाथि चितवन राइनोजले ३३ रनले बाजी मारेको थियो । गत वर्ष पनि उत्कृष्ट फर्ममा रहँदारहँदै सुदूरपश्चिम चितवनसँग स्तब्ध बन्यो । यस सिजनमा सुदूरपश्चिम अपराजित छ । १० अंकका साथ प्लेअफमा पुग्ने सुदूरपश्चिम पहिलो टोली हो । बिहीबार यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदै छ ।

चितवन पहिलो संस्करणमा झैँ स्तब्ध नतिजा निकाल्ने योजनामा छ । सुदूरपश्चिम भने त्यो हारको बदला लिने लक्ष्यका साथ मैदानमा ओर्लनेछ । जितले सुदूरपश्चिम लगातार ६ खेलमा विजयी हुनेछ । सुदूरपश्चिममाथि जित निकाल्दा चितवनको ६ अंक हुनेछ । यसले चितवनको पनि प्लेअफ आशा जीवितै रहनेछ । हारले चितवनको शीर्ष चारको सम्भावना कमजोर बन्नेछ । सुदूरपश्चिमले ब्याटिङ र बलिङमा एकनास प्रदर्शन गरिरहेको छ । चितवन भने इंग्लिस ब्याट्सम्यान रवि बोपारामाथि टिकेको छ । उनले दोस्रो एनपिएलमा तीन अर्धशतक लगाइसकेका छन् । चितवनको शीर्ष क्रम चल्न नसक्दा मध्यक्रममा दबाब देखिन्छ । सुदूरपश्चिमको भने शीर्षदेखि मध्यक्रम दरिलो छ । ओपनर विनोद भण्डारीले लगातार खेलमा रन बटुलिरहेका छन् । 

प्लेयर्स टु वाच

एडम रोसिंटन (पोखरा)
काठमाडौंको डर भनेकै रोसिंटन हुन् । कर्णालीविरुद्ध ५८ बलमा १०८ रनको शतकीय इनिङ्स खेल्दै उनले विपक्षी बलरको होस उडाएका थिए । काठमाडौंले उनको विकेट चाँडै लिन सक्यो भने पोखरामाथि हाबी हुने अवसर पाउनेछ । यदि उनी लामो समयसम्म क्रिजमा रहे भने खेलको स्वरूप नै परिवर्तन हुन सक्छ । उनले लुम्बिनीविरुद्ध ८१ रनको योगदान दिएका थिए । उनी स्पिनर र फास्ट बलरमाथि हाबी हुन सक्छन् । बलरको कमजोर बलमा सिधै छक्का प्रहार गर्दै टोलीको रनरेट उकास्नमा मद्दत गरिरहेका छन् ।

साहब आलम (काठमाडौं)
काठमाडौंका साहब पोखराको दायाँहाते ब्याट्सम्यानलाई रोक्न सक्छन् । बायाँहाते स्लो स्पिनर साहबले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काठमाडौंबाट पाँच खेल खेलेका उनले ६ विकेट हात पारेका छन् । विकेट नलिएको अवस्थामा उनले कसिलो बलिङ गरेका छन् । कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सविरुद्ध विकेटविहीन रहँदा पनि उनी इकोनोमी बलर बनेका थिए । साहबले चितवन र विराटनगर किंग्सविरुद्ध विकेट लिँदै टोलीको जितमा महŒवपूर्ण योगदान दिएका थिए । पहिलोभन्दा दोस्रो इनिङ्समा उनको बलिङ प्रभावशाली देखिन्छ ।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
दीपेन्द्रसिंहको कारण नै सुदूरपश्चिमको मध्यक्रम बलियो भएको देखिन्छ । सुरुदेखि नै सट लगाउन योजनाका साथ मैदानमा आउने दीपेन्द्र कहिलेकाहीँ अवस्थाअनुसार ब्याटिङ गर्छन् । विकेटको अर्कोतिर एकजना ब्याट्सम्यान आक्रामक भइरहँदा उनी आफूलाई शान्त बनाउँछन् । जब टोलीलाई रनरेटको आवश्यकता हुन्छ, त्यसवेला उनी आक्रामक बन्ने गर्छन् । उनले कर्णाली याक्स र काठमाडौं गोर्खाजविरुद्ध समान ३९ रनको योगदान दिएका छन् । बलिङमा उनले अहिलेसम्म ६ विकेट हात पारेका छन् ।

रवि बोपारा (चितवन)
इंग्ल्यान्डका पूर्वखेलाडी बोपारा पछिल्लो खेलमा चल्न सकेनन् । जनकपुर बोल्ट्सविरुद्ध उनी ३ रनमै आउट भए । यसबहेक अन्य खेलमा बोपाराको ब्याटिङ उत्कृष्ट रह्यो । दोस्रो एनपिएलमा लगातार तीन खेलमा अर्धशतकीय इनिङ्स खेल्दै उनले विपक्षी बलरको आक्रमक कमजोर बनाए । उनी अहिले एनपिएलकै सर्वाधिक रन बटुल्ने खेलाडीको शीर्ष स्थानमा छन् । चितवनको प्लेअफ आशा जीवितै राख्न उनको ब्याटिङ चल्नुपर्छ । बोपारकै कारण चितवनको मध्यक्रमको ब्याटिङ बलियो भएको हो । 

See More On

सुझावित समाचार