बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालमा रहेका विविध जातजातिका सांस्कृतिक परम्पराहरूले राष्ट्रिय पहिचान मजबुत बनाउन ठुलो योगदान दिएको उल्लेख गरेका छन् । किराँत समुदायले मनाउने महत्त्वपूर्ण सांस्कृतिक पर्व उँधौली–उँभौली तथा नेवारी समुदायले मनाउने यःमरी पुन्हीको अवसरमा शुभकामना सन्देश जारी गर्दै विविधता, सहिष्णुता र सामाजिक एकताले भरिएको नेपालमा विविध समुदायको सांस्कृतिक परम्पराले राष्ट्रिय पहिचान मजबुत बनाउन ठुलो योगदान दिएको उल्लेख गरेका हुन् ।
उनका अनुसार नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक भएकाले विभिन्न समुदायका धर्म, भाषा, साहित्य र परम्पराहरूले आपसी सम्मान र सहअस्तित्वको उदाहरण प्रस्तुत गर्दै आएका छन् । किराँत समुदायले मनाउँदै आएको उँधौली–उँभौली पर्व प्रकृति पूजा, कृषि चक्र तथा सामूहिक सदभावको प्रतीक रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यस पर्वले समाजमा शुभकामना, सौहार्द र मानवताको सन्देश फैलाउने मुख्यमन्त्री बानियाँले विश्वास व्यक्त गरेका छन् ।
किराँत समुदायले आफ्नो मौलिक परम्परा जोगाउँदै सांस्कृतिक पहिचान संरक्षणमा गरेको योगदानको प्रशंसा गर्दै उनले प्रदेश सरकार यस समुदायको भाषा, साहित्य र सांस्कृतिक विकासका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । उनले किराँत समुदायले प्रदेशको सामाजिक सदभाव, लोकतान्त्रिक मूल्य तथा समावेशी समाज निर्माणमा गरेका योगदान उल्लेखनीय रहेको सन्देशमा उल्लेख गरेका छन् ।
यस्तै, नेवारी समुदायको यःमरी पुन्हीको अवसरमा उनले देशभरको सामाजिक सदभाव, राष्ट्रियता र गणतान्त्रिक मूल्य–मान्यता अझ सुदृढ हुने अपेक्षा व्यक्त गर्दै सबैमा एकता, सहिष्णुता र आपसी सदभावको भावना फैलियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।