- शंकास्पद व्यक्ति फेला पर्नेबित्तिकै नियन्त्रणमा लिन सीमा जोडिएका जिल्लालाई गृह मन्त्रालयको निर्देशन
रोहिंग्या शरणार्थीको प्रवेश रोक्न नेपाली प्रशासनले भारतसँग जोडिएका सीमानाकामा सुरक्षा जाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई अवैध रूपमा भइरहेको प्रवेशलाई पूर्ण रूपमा रोक्न निर्देशन दिएसँगै चेकजाँच कडाइ गरिएको हो ।
भारतमा अवैध बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरिसकेका छन् । हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन (एसआइआर) कार्यक्रम चलिरहेको छ । त्यो कार्यक्रमले प्रभावित हुने भएपछि रोहिंग्यालगायत भारतमा अवैध रूपमा बस्दै आएका नेपाल आउन थालेको सूचना सुरक्षा निकायको छ । नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा प्रवेश गरी बस्दै आएका छन् । भारतसँग १४४ किलोमिटर खुला नाका भएको झापा बंगलादेशबाट पनि नजिकको जिल्ला हो । यो खतरालाई आकलन गरेर प्रशासनले नाकामा सुरक्षाकर्मी तैनाथ राखेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिरहेका छन् ।
झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले झापा भएर अवैध रूपमा विदेशी नागरिक भित्रन सक्ने खतरा रहेकाले सशस्त्र प्रहरीसँग समन्वय गरेर उनीहरू छिर्न सक्ने सम्भावित नाकामा कडाइ गरेको बताए । ‘झापा भएर अवैध रूपमा विदेशी नागरिक भित्रने सम्भावना र चुनौती छ । गौँडा–गौँडामा कडाइ गरिरहेका छौँ,’ उनले भने, ‘मुख्य नाकामा पनि प्रत्येक नागरिकको परिचयपत्र हेरिरहेका छौँ । कतैबाट छिरेको भए पनि सहरी क्षेत्रमा पनि निगरानी गररहेका छौँ ।’
मधेश प्रदेशअन्तर्गत सप्तरीदेखि पर्सासम्म आठ जिल्लाका भारतसँग सीमा जोडिएका ४५६ किलोमिटर खण्डमा चार दिनदेखि २४सै घण्टा चेकजाँच भइरहेको महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीले जनाएको छ । बाहिनीका सूचना अधिकारीसमेत रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोककुमार बमका अनुसार आठवटै जिल्लास्थित भन्सार नाकासहित अन्य सहायक नाकाबाट सीमा वारपार गर्नेको ६५ वटा बोर्डर आउटपोस्ट र प्रस्तावित सीमा सुरक्षा गुल्ममार्फत जाँच गर्ने, आधिकारिक कागजात हेर्ने गरिएको छ । ‘अहिलेसम्म अनधिकृत ढंगले प्रवेश गर्न खोज्नेहरू भेटिएका छैनन्,’ उनले भने ।
सप्तरीको कुनौली, छिन्नमस्ता र बेलही, सिराहाको ठाढी र माडर भन्सारसहित बरियारपट्टी, नरगी कचनारी, गोरगम्मा, अभयनगर, कमलपुर नाका, धनुुषाको जटही भन्सारसहित खजुरी, महिनाथपुर, दुहबी, हरिने, खौना नाकामा चेकजाँच बढाइएको छ । महोत्तरीको भिठ्ठामोड भन्सारसहित मटिहानी, समसी, इटहर्वाकट्टी, कट्टीकटैया, पोखरभिन्डा, रघुनाथपुर, खैरबन्नी, सर्लाहीको मलंगवा भन्सारसहित सोनर्सा नाका, रौतहटको गौर भन्सारसहित मटिहा, रामपुर खाप, बंकुल नाका, बाराको मटियर्वा छोटी भन्सारसहित झरोखर, सतुवाई, बैरिया, माङ्सांग्राम, गुलरिया, त्रिवेणीघाट, सन्तगन्ज, सनफुलवा, अमुवा, छतवा, मुसहरवा, बलिरामपुर नाका हुँदै आउनेहरूको चेकजाँच भइरहेको छ ।
मधेश प्रदेशमै सबैभन्दा बढी भारतसँग सीमा जोडिएको पर्साको १०७ किलोमिटर खण्डमा पर्ने वीरगन्ज भन्सारसहित अलौ, अमरपट्टी, पर्सौनी भाटा, भिसवा, ठोरी, पकाहामैनपुरमा १७ युनिटमा कार्यरत सशस्त्र प्रहरीबाट चेकजाँच गरिरहेको बमले बताए । नेपाल प्रहरी, मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार आठवटै जिल्ला प्रहरीमातहत सीमावर्ती क्षेत्रमा पर्ने प्रहरी युिनटहरूबाट चेकजाँच भइरहेको, तर अहिलेसम्म अवैध रूपले प्रवेश गर्न खोज्नेहरू भेटिएका छैनन् ।
यसैगरी, भारतसँग जोडिएका सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगरसहित सीमानाकामा सशस्त्र प्रहरीले डेढ सातायता चेकजाँचमा कडाइ गरेको छ । सीमामा खटिएका सुरक्षाकर्मीले नाकाबाट आउनेको परिचयपत्र चेकजाँच गर्ने, शंका लागेकालाई उनीहरू आएको र जान लागेको ठाउँबारे विस्तृत वितरण लिने काम गरिरहेका छन् । रोहिंग्या शरणार्थी भारतीय आधार कार्ड बनाएर विभिन्न नाकाबाट नेपाल आइरहेको भन्ने सूचनाका आधारमा चेकजाँचमा कडाइ गरिएको सीमामा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
‘भारतीय आधार कार्ड बनाएर इँटाभट्टामा काम गर्ने मजदुर, कामदारका रूपमा शरणार्थी छिर्ने गरेको भन्ने आएको छ,’ धनगढीमा रहेको त्रिनगर भन्सार नाकास्थित सशस्त्र प्रहरीको त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भने, ‘पारि (भारततर्फ) नाकामा खटिएका एसएसबीलाई पनि त्यस्तो शंका लागे खबर गर्नुहोला भनेका छौँ ।’
कैलालीको १०१ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । नाकासँगै खुला सिमानामा पनि निगरानी बढाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । नाकाबाट भित्रिनेको परिचयपत्र हेर्ने, खुला सीमाक्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने काम भइरहेको उनको भनाइ छ । कैलालीमा सशस्त्र प्रहरीका १५ वटा सीमा सुरक्षा पोष्ट छन् ।
कञ्चनपुरकै गड्डाचौकी नाकामा पनि प्रहरीले चेकजाँच कडाइ गरेको छ । नाकामा पहिलेको भन्दा निगरानी र चेकजाँच बढाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उनका अनुसार खुला सीमाक्षेत्रमा पनि सशस्त्र प्रहरीले गस्ती बढाएको छ । कञ्चनपुरमा भारतसँग जोडिएको १२९ किलोमिटर खुला सिमानालाई २४ वटा सशस्त्रका सीमा सुरक्षा पोस्टले निगरानी गर्ने गरेको छ । त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक कैयौँ भारतीय नागरिक रोजगारी, घुमफिरलगायतका लागि नेपाल आउने गरेका छन् । बैतडीको झुलाघाट नाकामा परिचयपत्रका आधारमा सुरक्षा पोस्टमा नाम ‘इन्ट्री’ गराएर ओहोरदोहोर गर्ने गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नाकामा अनधिकृत आवतजावत हुन नदिन सुरक्षा सतर्कता अपनाइएको बताए ।
पहिचान खुल्ने कागजात भएकालाई नेपालगन्ज नाकाबाट प्रवेश
इलाका प्रहरी कार्यालय जमुनाहाले पहिचान खुल्ने कागजात भएकालाई मात्र नेपालगन्ज नाकाबाट नेपाल प्रवेश गर्न दिइरहेको छ । यसअघि निर्वाध रूपमा भारत जान र आउन दिँदै आएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले परिचय खुल्ने कागजात भएकालाई मात्र आउजाउ गर्न दिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताए । ‘गृह मन्त्रालयको निर्देशनपछि नाकामा निगरानी बढाइएको छ । परिचय खुल्ने कागजात भएकालाई मात्र आउजाउ गर्न दिइएको छ । शंकास्पद व्यक्तिलाई केरकार गर्ने र हुलिया लिने गरेका छौँ,’ उनले भने । उनले अहिलेसम्म शंकास्पद व्यक्ति फेला नपरेको बताए । भारतबाट रोहिंग्या शरणार्थी प्रवेश गर्ने र नेपालबाट भारत जान सक्ने खतरालाई मध्यनजर गरी प्रहरी परिचालन गरिएको बताए । ‘ड्युटीमा बसेका प्रहरीलाई प्रत्येकको परिचय खुल्ने कागजात हेर्न र शंका लागेमा नियन्त्रणमा लिन निर्देशन छ,’ उनले भने ।
भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले आफ्नो क्षेत्रमा कडाइ गरेकाले रोहिंग्या शरणार्थी सजिलै नेपालमा प्रवेश गर्ने सम्भावना न्यून रहेको उनले बताए । ‘रोहिंग्या शरणार्थी नेपाल आउन सक्ने सूचना पाएदेखि एसएसबीले पनि कडाइ गरेको छ । पहिचान खुल्ने कागजात भएकालाई मात्र नेपाल आउन दिने भएकाले अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने खतरा एकदमै न्यून छ,’ मल्लले भने, ‘शंकास्पद व्यक्ति फेला पर्नेबित्तिकै नियन्त्रणमा लिने निर्देशन छ ।’
बंगलादेशबाट आउने न्यून
पूर्वी नाका काँकडभिट्टा बंगलादेशबाट नजिकको नाका हो । विगतमा यो नाका भएर धेरै बंगलादेशी नेपालमा पर्यटकका रूपमा भित्रन्थे । तर, विगत केही वर्षयता बंगलादेशी नागरिक न्यून रूपमा मात्र आवतजावत गरिरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए । भारतले बंगलादेशी नागरिक नेपालतर्फ नपठाउँदा आवतजावत घटेको उनले बताए । केही कार्यक्रममा आउने नागरिक मात्र नेपाल आइरहेको उनले बताए । ‘बंगलादेशी नागरिक केही वर्षयता पर्यटकका रूपमा छिरेका छैनन् । भारतले नै पठाएको छैन । केही नागरिक कार्यक्रमका लागि आउँछन्,’ उनले भने । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सन् २०२४ मा बंगलादेशबाट ३६ जना बंगलादेशी नेपाल आएका थिए भने नेपालबाट २८ जना बंगलादेश गएका थिए । यस्तै, सन् २०२५ को ३ डिसेम्बरसम्म २३ जना बंगलादेशी नेपाल आएका छन् भने नेपालबाट १८ जना मात्र गएको अध्यागमन कार्यालयले जनाएको छ ।
नाकामा भइरहेको चेकजाँचमा गृहमन्त्री अर्यालको चासो
धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार त्रिनगर नाका पुगेर नाकामा चेकजाँच र आवतजावतमा चासो राखेका थिए । नाकाको निरीक्षणपछि सशस्त्र प्रहरीको त्रिनगर गुल्ममा सुरक्षा ब्रिफिङ सुनेपछि उनले चेकजाँच गर्ने मेसिन राख्न सकिने सम्भावनाबारे चासो राखेका थिए । ‘गृहमन्त्रीज्यूले शरणार्थीबारे त्यस्तो कुनै विषय उठाउनुभएन, तर नाकामा कसरी चेकजाँच हुन्छ भनेर चासो राख्नुभएको थियो,’ एक सुरक्षा अधिकारीले भने ।
सतर्कता अपनाएर चेकजाँचमा कडाइ भइरहेको छ : आनन्द काफ्ले, प्रवक्ता, गृह मन्त्रालय
भारतबाट अवैध व्यक्तिहरू प्रवेश हुन सक्ने भन्दै रोक्नका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेका छौँ । मौखिक रूपमा पनि भनेका छौँ । सशस्त्र प्रहरीलाई पनि निर्देशन दिएका छौँ । सोहीअनुसार सतर्कता अपनाएर चेकजाँचमा कडाइ भइरहेको छ । शंकास्पद व्यक्तिहरू प्रवेश गरेको थाहा पाएमा सूचना दिएर सहयोग गर्न आमनागरिकलाई पनि भनेका छौँ ।