उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक : संविधान संशोधनबाट निर्वाचन प्रणालीमा सुधार

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

घोषणापत्रको मुख्य विशेषता

  • बहुमत आउने निर्वाचन प्रणाली, अढाई वर्षसम्म प्रधानमन्त्री फेर्न नपाउने
  • पालिकामा गैरदलीय चुनाव, संघीयताको अभ्यासलाई कायमै राख्ने
  • सरकार परिवर्तनसँगै राजनीतिक नियुक्तिहरू तत्कालै रिक्त हुने
  • अन्तरजिल्ला र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार

जेन–जी आन्दोलपछि ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा स्थापना भएको उज्यालो नेपाल पार्टीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने निष्कर्षसहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित पार्टीको औपचारिक घोषणा सभामा सार्वजनिक गरिएको घोषणापत्रले संविधानको मूलभूत व्यवस्थालाई आत्मसात् गर्दै थुप्रै सुधारहरू गर्नुपर्ने औँल्याएको हो । 

‘हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गरिनुपर्दछ,’ घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चता पार्टीको मूल राजनीतिक आदर्श हुने भनिएको छ । यसैगरी, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त राष्ट्र भएको हुनाले यस पार्टीले नेपाली समाजको बहुलपनालाई सम्मान, संरक्षण र संवद्र्धन गर्दै सामाजिक न्यायमा आधारित, सहभागितामूलक समावेशी र लोककल्याणकारी राज्य प्रणालीमार्फत जनताको सामूहिक हितको रक्षा गर्नुपर्ने भनिएको छ । 

पार्टीले नागरिक स्वतन्त्रता, विधिको शासन, आवधिक निर्वाचन, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र प्रेस स्वतन्त्रताजस्ता विश्वव्यापी रूपमा अभ्यास भइरहेका लोकतन्त्रका आधारभूत मूल्य–मान्यतालाई स्वीकार गरी उत्कृष्टता, पारदर्शिता र जवाफदेहिताका आधारमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भनिएको छ । संविधानको मूलभूत व्यवस्थालाई आत्मसात् गर्दै लोक कल्याणकारी राज्य र उदारवादी अर्थ–व्यवस्थाको अभ्यास गर्नु उज्यालो नेपाल पार्टीको मूलभूत राजनीतिक र आर्थिक मार्गदर्शन रूपमा रहने भनिएको छ । पार्टीले नागरिकको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको हकलाई राज्यको क्षमता बढाएर अनिवार्य दायित्वका रूपमा ग्रहण गर्नेछ । साथै, राज्य, निजी क्षेत्र, सहकारी र समुदायबिच गतिशील र सन्तुलित साझेदारीमा बाधारित समाजवादमुखी आर्थिक प्रणालीको अभ्यास गर्नेछ । नेपालको भौगोलिक अखण्डता, राजनीतिक स्वामित्व र सामारिक स्वायत्तता सुरक्षित राख्दै राष्ट्रिय सहमतिका आधारमा परराष्ट्र नीतिको तर्जुमा र सञ्चालन गरिनेछ । 

गैरआवासीय नेपालीलाई नेपालमा फर्किन र नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ । राज्य सञ्चालनमा शक्ति पृथकीकरण र शक्तिसन्तुलनको वास्तविक अभ्यास गरिनेछ । उत्कृष्टताका आधारमा राजकीय जिम्मेवारी प्राप्त गर्ने प्रणाली स्थापना गरिनेछ । उज्यालो नेपाल पार्टीले संविधानलाई गतिशील दस्ताबेजका रूपमा स्वीकार गर्ने र उज्यालो भविष्यका लागि वर्तमान संविधानका केही व्यवस्था संशोधन गर्नुपर्ने भनेको छ । हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न असम्भव भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने भनिएको छ । 

घोषणापत्रमा राज्य सञ्चालनलाई प्रभावकारी बनाएर मात्र सामाजिक न्यायसहितको समृद्ध एवं उज्यालो नेपाल निर्माण गर्न सकिने हुनाले हाल भइरहेको अभ्यासहरूमा तत्कालै सुधार हुनुपर्ने भनिएको छ । जसका लागि प्रचलित ऐन–कानुनमा समसामयिक सुधार गर्दै विकासमैत्री बनाइनुपर्ने, द्रुत गतिमा विकास कार्यलाई अगाडि बढाउन बाधक कानुनहरू संशोधन र खारेज गरिनुपर्ने र यसका लागि छाता ऐन निर्माण गरिनुपर्ने भनिएको छ ।

राज्यका निकायबिच स्पष्ट समन्वय र सहकार्य हुने गरी कानुनी र संस्थागत व्यवस्था हुनुपर्ने, राज्यको सबै लगानीलाई योजनाबद्ध रूपमा परिचालन गरी अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर बनाउन क्षेत्रगत एकीकृत विकास कार्यक्रम र प्राथमिकता तोकिनुपर्ने, प्राकृतिक साधन र स्रोतको एकीकृत एवं बहुउपयोग गर्ने प्रणाली स्थापना गरिनुपर्ने भनिएको छ । 

कुलमानले भने– देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेछ
घोषणा सभामा पार्टीका संरक्षक एवं ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले देश बनाउने विश्वास व्यक्त गरे । आफूले आठ वर्षदेखि उज्यालो नेपाल अभियान चलाइरहेको र अहिले पार्टीका रूपमा आएको उनको भनाइ थियो । ‘अब यहाँबाट हिँडेपछि कता जाने होला तपाईंहरूले भन्दा अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ,’ उनले भने । राजनीति परिवर्तन गर्न नेताहरू सफल भएको भन्दै घिसिङले थपे, ‘वास्तवमा परिवर्तन, सिस्टम, विचारले मात्र देश बन्दो रहेनछ । लिडरसिप पनि जरुरी छ । यदि नेतृत्व राम्रो भयो भने देश बन्दोरहेछ ।’

अध्यक्ष अनुपकुमार उपाध्यायले जनताले खोजेको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पूरा गर्न दल खोलेको बताए । ‘आमजनताले खोजेको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पूरा गर्न नयाँ दलको स्थापना गर्नु अपरिहार्य भएको छ,’ उनले भने । 

सुझावित समाचार