साढे दुई महिनामै ढले मधेशका तीन सरकार, भोलिसम्म पाँचौँ मुख्यमन्त्री बन्दै

जबर्जस्ती मुख्यमन्त्री लिएको एमाले मधेशमा सत्ताविहीन

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
  • मुख्यमन्त्रीका लागि भोलिसम्म दाबी पेस गर्न आह्वान 
  • सातदलीय गठबन्धनमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाको दाबी

एकपछि अर्को गठबन्धनको प्रयोगले पनि दिगो सरकार नदिँदा मधेश प्रदेशमा पनि राजनीतिक अस्थिरता बढेको छ । सत्ता खिचातानीका कारण साढे दुई महिनामै तीन सरकार ढलेका छन् । समग्रमा ०७९ को निर्वाचनपछि मधेशमा चार सरकार ढलिसकेका छन् । 

सर्वोच्च अदालतको आदेशअनुसारको समयसीमामा विश्वासको मत आर्जन गर्न नसक्ने देखिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा गरेका छन् । यससँगै मधेशमा आगामी शुक्रबार साँझसम्म नयाँ सरकार गठन हुने गरी प्रक्रिया अगाडि बढेको छ । 

२८ असोजयता मात्र जनमतका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनल र एमालेका सरोजकुमार यादव नेतृत्वको सरकार ढलेका हुन् । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा पदबाट राजीनामा घोषणा गरे पनि पछि पद छाड्न नमानेका सिंहलाई उनकै दल जनमतले साथ नदिएपछि २८ असोजमा राजीनामा दिएका थिए । उनी २२ जेठ ०८१ मा मुख्यमन्त्री बनेका थिए । 

त्यसपछि कांग्रेस र एमालेलाई बाहिर राखेर जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको समर्थनमा चौथो दल लोसपाका सोनल २९ असोजमा मुख्यमन्त्री बने । सरकार बचाउन उनलाई संसद्मा ५४ सांसदको समर्थन चाहिन्थ्यो । तर, माओवादीको आन्तरिक विवाद र जनमत विभाजनले मुख्यमन्त्री सोनलले विश्वासको मत सिद्ध गर्न सक्ने अवस्था रहेन । त्यसपछि उनले २२ कात्तिकमा पदबाट राजीनामा दिए । 

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने हुन्छ । तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्को सबैभन्दा ठुलो दल एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त गरिन् र भोलिपल्ट बर्दीबासको होटेलमा शपथ खुवाइन् । यो घटनाले संसद्को दोस्रो ठुलो दल कांग्रेस पनि विपक्षी गठबन्धनमा लागेपछि यादव नेतृत्वको सरकार जोगाउन बहुमत रहेन । 

एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने प्रक्रियालाई लिएर सर्वाेच्च अदालतमा मुद्दा नै पर्यो । सर्वाेच्चले सोमबार परमादेश जारी गर्दै आदेश प्राप्त भएको २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढाउन भन्यो । यादवले विश्वासको मत नपाउने भएपछि बुधबारको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरे । 

उनको राजीनामापछि धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ । यो प्रक्रियाअनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री हुन्छन् । 

यसअघि ०७९ को संसदीय निर्वाचनबाट २७ पुस ०७९ मा जसपा नेपालका सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको थियो । तर, २१ जेठ ०८१ मा उनी नेतृत्वको सरकार ढल्यो । त्यसपछि २२ जेठ ०८१ मा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्रीका लागि भोलिसम्म दाबी पेस गर्न आह्वान 
सातदलीय गठबन्धनमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाको दाबी

एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार २२ दिनमै ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । 

कांग्रेस, जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको सातदलीय गठबन्धनमा मुख्यमन्त्रीका लागि दुई दलको दाबी छ । संसद्को दोस्रो ठुलो दल कांग्रेस र चौथो दल लोसपाले मुख्यमन्त्रीका लागि दाबी गरिरहेकाले आन्तरिक छलफल थालिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनभित्र सबैभन्दा ठुलो दलका रूपमा कांग्रेस रहेकाले नेतृत्व पाउनुपर्ने बताए । ‘लोकतान्त्रिक व्यवस्थाको रक्षा र प्रदेशलाई समृद्ध बनाउन कांग्रेसलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘तर, सरकारको नेतृत्वको विषय सात दलको सहमतिमै टुंगो लगाउँछौँ ।’ 

लोसपा संसदीय दलका नेता जयनुल राइनले पहिलेदेखिको सहमतिअनुसार मधेशमा मधेशकेन्द्रित दलकै नेतृत्व हुनुपर्ने दाबी दोहोर्याए । उनका भनाइमा विगतमा सबै दलको साथ नपाउँदा लोसपाले नेतृत्व गुमाउनुपरेको थियो । मधेशको हित र राजनीतिक प्रतिबद्धताअनुसार यसपटक सरकारको नेतृत्व लोसपाले पाउनुपर्ने र पार्टी सबैभन्दा उपयुक्त अवस्थामा रहेको उनको तर्क छ । 

जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले सातदलीय गठबन्धनमा सरकारको नेतृत्वको विषयमा नयाँ सिराबाट छलफल हुने बताए । यस विषयमा बिहीबार छलफल हुने उनले बताए । जसपा नेपालका प्रमुख सचेतक रामाशिष यादवले जसपाका लागि मुख्यमन्त्रीभन्दा पनि लोकतन्त्र, संघीयता र प्रदेशको समृद्धि महत्वपूर्ण रहेको बताए । सातदलीय गठबन्धनमा सहमतिमा नयाँ सरकार नेतृत्वको विषयमा निर्णय हुने उनले बताए । 

जनमत र माओवादी भने सहमतिको आधारमा सर्वदलीय सरकार बन्नुपर्ने पक्षमा उभिएका छन् । माओवादी नेता भरत साहले मधेश प्रदेशको स्थिरता, सुशासन र विकासलाई प्राथमिकता दिँदै दलगत विवादमा नअल्झीकन सर्वदलीय सहमतिमै नेतृत्व चयन गर्नुपर्ने बताए । गठबन्धन दलका नेताहरूका अनुसार पछिल्ला दिनमा दलहरूबिच पटकपटक अनौपचारिक छलफल भइरहे पनि त्यसका लागि औपचारिक छलफल बिहीबारबाट सुरु हुनेछ । गठबन्धन दलहरू बसेर भागबन्डा, मन्त्री छनोट र नेतृत्वबारे अन्तिम टुंगो लगाउने तयारी छ ।

प्रदेश सभाको अंकगणित
१०७ सदस्यीय मधेश प्रदेश सभामा एमाले र लोसपाका एक–एक सांसद निलम्बित रहेकाले नयाँ सरकार बनाउन हाल कायम १०५ सदस्यको बहुमत अर्थात् ५३ मत चाहिन्छ । तर, सातदलीय गठबन्धनको ७९ मत छ । जसमा कांग्रेसका २२, जसपाका १९, जनमतका १३, माओवादीका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिका एक सांसद छन् । पहिलो दल एमालेसँग २४ सिट छ । यसबाहेक राप्रपा र संघीय समाजवादी पार्टीको एक–एक सिट छ । 

जबर्जस्ती मुख्यमन्त्री लिएको एमाले मधेशमा सत्ताविहीन 
सरकार गठनको आह्वानसमेत नगरी होटेलमा शपथ खुवाएर जबर्जस्ती मुख्यमन्त्री पद हत्याएको घटनाले एमाले मधेशमा सत्ताविहीन बनेको छ । सर्वाेच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरे पनि विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभा बैठकमा राजीनामा दिए । यादवको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरिसकेका छन् । यादवलाई होटेलमा लगेर मुख्यमन्त्रीको शपथ खुवाएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई संघ सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि नै २५ कात्तिकमा पदमुक्त गरेका थिए । भण्डारी एमालेकै कोटामा प्रदेश प्रमुख बनेकी थिइन् । होटेलमा शपथ खुवाएको घटनाबाट चिढिएका सात विपक्षी दलले २७ कात्तिकमा प्रदेश सभा सचिवालयमा दर्ता गराएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव ३ मंसिरमा प्रदेश सभाको बहुमतले पारित गरेसँगै सभामुख रामचन्द्र मण्डल पनि पदमुक्त भए ।

See More On

सुझावित समाचार