फुङलिङ नगरपालिकाको टोली ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा फुङलिङले मैवाखोला गाउँपालिकालाई २–० ले हरायो।
खेलको ५२औँ मिनेटमा समीक्षा मगरले टिमलाई अग्रता दिलाएकी थिइन्। इन्जुरी समयमा उनले दोस्रो गोल थपिन्। तेस्रो क्वाटरफाइनलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० ले पराजित गर्दै फुङलिङ सेमिफाइनल पुगेको थियो। मैवाखोलाले उद्घाटन खेलमा सिरिजंघा गाउँपालिकालाई २–० ले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार मेरिङ्देन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाबीच हुने छ। मेरिङ्देनले सिदिङ्वा गाउँपालिकालाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको हो भने पाथीभरा याङवरकले आठराई–त्रिवेणी गाउँपालिकालाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
दोस्रो सेमिफाइनलको विजेता टोलीले फाइनलमा फुङलिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपैयाँ तथा उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँ पाउने छ।