क्यानमा महानिर्देशक अधिकारी दुई दिन अख्तियारकै हिरासतमा रहने

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी दुई दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा बस्नुपर्ने भएको छ। उनको बयान र थुनछेक नभ्याएपछि विशेष अदालतले उनलाई अख्तियारमै फिर्ता पठाएको छ। बिहीबार सार्वजनिक बिदा भएकाले उनलाई अब बयानका लागि आयोगले शुक्रबार मात्र उपस्थित गराउनेछ। जसकारण कम्तीमा दुई दिन उनी न्यायिक हिरासतमा बस्नुपर्नेछ। 

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा अनियमितताको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेर बुधबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ। जसमा १३ करोड ५७ लाख ४३ हजार रुपैयाँ बिगो कायम गरिएको छ। अधिकारीसहित प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी पनि थुनछेक आदेश नभएसम्म हिरासतमै बस्नुपर्ने भएको छ।
आयोगले अधिकारी र भण्डारीसहित सातविरुद्ध मुद्दा चलाएको हो। 

प्राधिकरणका प्रबन्धक नलबिक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठ, परामर्शदाता कम्पनीहरू गुरुदत्त अधिकारी र विजय थापा तथा अभियन्त्र कन्सलटिङ प्रालिविरुद्ध मुद्दा दायर भएको हो। 

सुझावित समाचार