- भजनीका किसान गणेश साउद भन्छन्–सहकारीमा तीन सय बोरा मल मात्र रहेछ, लाइनमा पाँच सयभन्दा बढी पुगे । एक–एक बोरा पनि भाग नपर्ने भएपछि सहकारीले बाँड्न सकिँदैन भनेर फर्कायो ।
कैलालीको भजनी नगरपालिका– ८, ढुसीका किसान कृष्णा चौधरी रासायनिक मल किन्न भजनी बजारमा रहेको साना किसान सहकारीअगाडि सोमबार रातभरि लाइन बसिन् । बिहान ९ बजेसम्म लाइन बसेकी उनले एक बोरा मल किन्न पाइनन् । मल किन्न आउने किसानको भिड बढी भएको र मलको मौज्दात कम हुँदा विवाद आउने देखेर सहकारीले मंगलबार मल बिक्री गर्न सकेन ।
‘चिसोमा रातभरि लाइन लागेर बिहान खाली हात फर्कनुपर्यो,’ चौधरीले भनिन्, ‘सहकारीले एकजनालाई एकपटक एक बोरा मल दिन्थ्यो । भिड बढी भएकाले सबैलाई नपुग्ने भएपछि त्यो पनि पाइएन ।’ उनका अनुसार बिहानसम्म मल लिनेको लाइन चार सयभन्दा बढी पुगिसकेको थियो । उनले आफूले २० बिघा जमिन ठेक्कामा लिएर गहुँ लगाएको बताइन् । ‘गहुँ सिँचाइ गरिसक्यौँ, अहिले युरिया हाल्ने वेला हो,’ चौधरीले भनिन्, ‘कम्तीमा ३५ बोरा मल चाहिन्छ, सहकारीमा रातभर लाइनमा लागेर एक बोरा पाउन पनि मुस्किल छ ।’
भजनीकै अर्का किसान गणेश साउद पनि सोमबार रातभर लाइन लागेर बिहान रित्तै फर्किए । ‘सहकारीमा तीन सय बोरा मल मात्र रहेछ, लाइनमा पाँच सयभन्दा बढी पुगे,’ उनले भने, ‘एक–एक बोरा पनि भाग नपर्ने भएपछि सहकारीले बाँड्न सकिँदैन भनेर फर्कायो ।’ अहिले सिँचाइ गरेपछि गहुँको बोट हुर्किन युरिया मल आवश्यक पर्ने उनले बताए ।
साना किसान सहकारीका व्यवस्थापक वसन्ती चौधरीले ३०८ बोरा युरिया आएकोमा पाँच सयभन्दा बढी किसान आएकाले वितरण गर्न नसकिएको बताइन् । उनले कृषि सामग्रीले केही दिनपछि थप मल दिने भनेकाले आएपछि मात्र मल वितरण गरिने जानकारी दिइन् । सरकारी अनुदानको मल बिक्री गर्ने भजनीकै अन्य दुई पसलमा पनि सोमबार रातभर किसान लाइनमा बसे । ती दुई ठाउँमा पनि मल सकिएपछि कतिपय किसान रित्तै फर्किएका थिए ।
भजनी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले नगरपालिकाभरि युरिया मलको चरम अभाव रहेको बताए । उनले रातभर लाइनमा लाग्दा पनि किसानले एक बोरा मल पाउन नसकेको बताए । यो सिजनमा ४३ हजार क्विन्टल युरिया आवश्यक पर्ने नगरपालिकाको कृषि शाखाले आकलन गरेको, तर हालसम्म साढे सात हजार क्विन्टल मात्र मल आएको वडाध्यक्ष चौधरीले बताए । ‘किसानले मलका लागि यस्तो चिसोमा रातभर सडकमा लाइनमा बस्दा पनि मल नपाउने अवस्था छ,’ चौधरीले भने, ‘यहाँ दिने मलको कोटा बढाइदिन बारम्बार आग्रह गरेका छौँ ।’ भजनी नभई जोशीपुर गाउँपालिकालगायत केही पालिकामा पनि किसानले युरिया मल पाएका छैनन् ।
किसान मलका लागि भौँतारिरहँदा सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा भने कैलालीका लागि ७४३ मेट्रिकटन युरिया मौज्दात छ । कार्यालयका प्रमुख नवलसिंह बोगटीले हालै आएको यो मल पालिकाहरूलाई निर्धारित कोटाअनुसार वितरण भइरहेको जानकारी दिए । उनले अरू पालिकाबाट त्यस्तो गुनासो नआए पनि भजनी र जोशीपुरमा किसानले मल नपाएको गुनासो गरिरहेका बताए ।