विदेशी विद्यार्थीको अध्ययन भिसामा कडाइ

भिसा दुरुपयोग भएको भेटिएपछि विदेशी विद्यार्थीको अनुगमन गर्न अध्यागमन विभागले ७७ वटै जिल्लामा पठायो पत्र

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

अध्यागमन विभागले नेपालमा अध्ययनरत विदेशी विद्यार्थीको भिसामा कडाइ गरेको छ । नेपालका विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विदेशी विद्यार्थीले अध्ययन भिसा दुरुपयोग गरेको पाइएपछि विभागले कडाइ गरेको हो । विदेशी विद्यार्थीको अनुगमन गर्न विभागले ७७ वटै जिल्लामा पत्र काटेको छ ।

विभागको तथ्यांकअनुसार सात वर्षयता सात हजार ९५७ विदेशी विद्यार्थीले अध्ययन भिसा लिएका छन् । उनीहरूमध्ये केही विद्यार्थी भर्ना भएको शैक्षिक संस्थामा नियमित हाजिर नहुने, अध्ययनको कोर्स पूरा गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र पेस गर्न नसकेको मात्र नभई आपराधिक क्रियाकलापमा समेत संलग्न रहेको भेटिएपछि विभागले भिसामा कडाइ गरेको हो । 

विभागका प्रवक्ता टीकाराम ढकालले अध्ययन भिसाको दुरुपयोग भएको भेटिएपछि व्यवस्थित गर्न खोजिएको बताए । ‘प्रत्येक वर्ष सरदर एक हजारदेखि ११ सयहाराहारीमा विदेशी विद्यार्थीले अध्ययन भिसा लिने गरेको देखिन्छ । तर, उनीहरू नियमित रूपमा कलेज भर्ना भएको देखिँदैन । कतिपय विद्यार्थीले त लामो अवधिसम्मको बसाइमा अध्ययन भिसालाई वैकल्पिक उपायका रूपमा प्रयोग गर्ने गरेको पाइयो । यसका लागि नक्कली कागजातसमेत पेस हुने गरेको भेटिएपछि व्यवस्थित गर्न खोजिएको हो,’ उनले भने ।

नेपालमा विदेशी विद्यार्थीले एकेडेमिक र नन–एकेडेमिक गरी दुई प्रयोजनले अध्ययन भिसा लिँदै आएका छन् । चिकित्सा विज्ञान, इन्जिनियरिङ, अर्थशास्त्र, समाजशास्त्रलगायत विषय अध्ययन एकेडेमिक हुन् भने भाषा, संस्कृति, नृत्य, नाटक, चित्रकला, वास्तुकला सिकाइलगायत अध्ययन नन–एकेडेमिक हुन् । इमानदारीपूर्वक अध्ययन गर्न चाहने विद्यार्थी शैक्षिक संस्थामा आफैँ भर्ना हुन्छन् । र, नियमित कक्षा जान्छन् । तर, अध्ययन भिसालाई नेपाल बस्ने वैकल्पिक माध्यम मात्रै बनाउन चाहने विद्यार्थी कन्सल्टेन्सी जान्छन् । कागजात उनीहरूले नै तयार गरिदिन्छन् । सोही कागजातका आधारमा कलेज भर्ना हुन्छन् । कलेजलाई नियमित शुल्क पनि बुझाउँछन् । तर, विद्यार्थी कक्षामा हाजिर हुँदैनन् । आपराधिक क्रियाकलापमा संलग्न हुने यस्तै खालका विद्यार्थी रहेको विभागको बुझाइ छ । 

‘नेपालमा एकेडेमिक र नन–एकेडेमिक अध्ययन भिसा जारी हुन्छ । जेन्युइन विद्यार्थी कलेज भर्ना हुन्छन् । नियमित कलेज जान्छन्, तर जसले बसाई लम्ब्याउने प्रयोजनका लागि मात्रै यो भिसा लिन्छ, ऊ कलेज जाँदैन, फी भने तिरिरहेको हुन्छ । यस्तो क्रियाकलापले कलेजलाई आम्दानी त भयो, तर भिसाको सदुपयोग भएन,’ ढकालले भने ।

नियमत: अध्ययन भिसा लिन चाहने विद्यार्थी सुरुमा सम्बन्धित शैक्षिक संस्थामा भर्ना हुनुपर्छ । सोही आधारमा शैक्षिक संस्थाले सम्बन्धित विद्यार्थीलाई अध्ययन भिसा उपलब्ध गराइदिन शिक्षा मन्त्रालयलाई सिफारिसपत्र लेख्छ । र, मन्त्रालयको सिफारिसपछि विभागले सम्बन्धित विद्यार्थीलाई अध्ययन भिसा उपलब्ध गराउँछ । शैक्षिक संस्थाले विदेशी विद्यार्थीलाई पहिलो वर्ष सजिलै भर्ना लिन्छन् । सोही आधारमा उनीहरूले भिसा पनि सजिलैसँग पाउँछन् । तर, नवीकरण गर्नुपर्ने समयमा भने शैक्षिक संस्थाले जाली कागजात बनाउँछन् । र, भिसा नवीकरणका लागि सिफारिस पठाउँछन् । यो धन्दामा कन्सल्टेन्सीसमेत संलग्न रहेको विभागको भनाइ छ । 

‘अध्यागमन विभागले गरेको अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाले अध्ययन कार्यमा नियमित रूपमा संलग्न नहुने पूर्वजानकारी हुँदाहुँदै विद्यार्थी भर्ना गर्ने गरेको पाइयो । संस्थाको आम्दानीलाई हेरेर उनीहरूले यस्तो गरेको देखिन्छ । हुँदाहुँदा कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न भएका विदेशीलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको छ,’ विभागका प्रवक्ता ढकालले भने । विभागका अनुसार गैरकानुनी क्रियाकलापमा सहभागी हुने विदेशी विद्यार्थीको सम्बन्धमा त्यस्ता शैक्षिक संस्थाले सरोकारवाला कुनै निकायमा सूचना दिने गरेका छैनन् । विभागले त्यस्ता विद्यार्थीको सूचना उपलब्ध गराउन शैक्षिक संस्थालाई निर्देशन नै दिएको छ । 

गत १० मंसिरमा गरिएको निर्देशनमा भनिएको छ, ‘भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थी नियमित रूपमा पठनपाठनमा संलग्न भए–नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठनभन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन अध्यागमन विभाग सबै शैक्षिक संस्थालाई अनुरोध गर्दछ ।’

विश्व भाषा क्याम्पसका विद्यार्थी कोकिन कारोबारी
लागुऔषध नियन्त्रण ब्युरोले ९ भदौ ०७८ मा तान्जेनियाली नागरिक गट्र्युड लियोनार्द किमोरलाई दुई किलो ९६६ ग्राम कोकिनसहित सिन्धुलीको खुर्कोटबाट पक्राउ गर्‍यो । अनुसन्धानपछि उनी विश्व भाषा क्याम्पसको विद्यार्थी रहेको खुल्यो । सन् २०२१ मा क्याम्पस भर्ना भएकी उनी स्टुडेन्ट भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी थिइन् । क्षेत्रपाटीमा प्रतिमहिना २० हजार रुपैयाँ फ्ल्याट भाडामा लिई बस्दै आएकी उनी सन् २०१९ मा पर्यटक भिसामा पहिलोपटक नेपाल आएकी थिइन् । पर्यटक भिसाको म्याद अवधि सकिएपछि उनले स्टेुडेन्ट भिसा लिएकी थिइन् । त्यसपछि लगातार नेपाल बस्दै आएकी उनले लागुऔषध कारोबारमा विशेष गरी ‘एन्टी सर्भिलेन्स’को भूमिका निभाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो  । त्यसबाहेक उनले क्षेत्रपाटीस्थित फ्ल्याटमा यौनधन्दासमेत चलाउँदै आएकी थिइन् । 

सुझावित समाचार