मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ। आज सम्पन्न अन्तिम क्वाटरफाइनलमा सिदिङ्वा गाउँपालिकालाई २–१ ले हराउँदै मेरिङ्देनले अन्तिम चारमा स्थान बनाएको हो।
खेलको सुरुवाती चरणमै दबदबा जमाउँदै अनुष्का शेर्पाले गोल गरेकी थिइन् । त्यसपछि ३८औँ मिनेटमा उनले नै दोस्रो गोल थप्दै टिमलाई आरामको अवस्थामा पुर्याइन् । खेलको ७०औँ मिनेटमा सिदिङ्वाकी हिमा राईले एउटा गोल फर्काए पनि त्यसले टिमलाई खेलमा फर्किन पर्याप्त भएन ।
यस जितसँगै मेरिङ्देन गाउँपालिकाको सेमिफाइनल भिडन्त पाथीभरा याङ्वरक गाउँपालिकासँग तय भएको छ। पाथीभराले आइतबारको खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ ले हराउँदै सेमिफाइनलको टिकट काटेको हो।
सोमबारको खेलमा फुङलिङ नगरपालिकाले फक्ताङलुङ गाउँपालिकालाई ३–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको थियो । खेलमा फुङलिङकी सम्झना लावतीले ४५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन । त्यसपछि सुजता लिम्बूले ४०औँ मिनेटमा दोस्रो गोल थपिन् भने ५४औँ मिनेटमा समीक्षा मगरले तेस्रो गोल गर्दै फुङलिङको जित सुनिश्चित गरिन् । अब फुङलिङले सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ । मैवाखोलाले उद्घाटन खेलमै सिरिजङ्घालाई २–० ले हराउँदै सेमिफाइनल स्थान बनाएको हो ।
प्रतियोगितामा विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । कोषाध्यक्ष कुलदीप मादेनका अनुसार म्यान अफ द म्याचलाई पाँच हजार, विधागत उत्कृष्ट खेलाडीलाई आठ हजार र सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइने छ । कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल २० मंसिर हुने तय गरिएको छ ।