एनपिएल : चितवनले दियो जनकपुरलाई १७७ रनको लक्ष्य

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

ओपनरद्वय डेबिड मालम र अर्जुन साउदको शतकीय साझेदारीप्रेरित चितवन राइनोजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको हो । 

चितवनका लागि मालम र अर्जुनले शतकीय साझेदारी गरेका थिए । दुवै खेलाडीले पहिलोपटक एनपिएलमा अर्धशतक बनाएका हुन् । दुई खेलाडीबिच पहिलो विकेटको लागि ११२ रनको साझेदारी भयो । डेबिड मालमले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा चार चौका र पाँच छक्का हिर्काएका हुन् । यसअघि मालमले ३८ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाएका थिए । 

१३.४ ओभरमा अर्जुन आउट हुँदा ५२ रन बनाए । उनले ३९ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन् । यसअघि अर्जुनले ३७ बलमा ५० रन जोडेका थिए । कप्तान तथा मार्की कुशल मल्लले १३ बलमा समान दुई चौका र छक्कासहित २८ रनको योगदान गरे । 

सेइफ जेइवले पाँच बलमा एक छक्कासहित सात रन जोडे । अघिल्लो तीन खेलमा लगातार अर्धशतक बनाएका रवि बोपराले पनि पाँच बलमा मात्र तीन रन बनाए । इंग्ल्यान्डबाट तीनै फर्म्याटको खेल खेलेका उनी एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । 

जनकपुरका लागि अनिल शाह, माज सादाकत, रुपेश सिंह र जान निकोल इटनले समान एक विकेट लिएका थिए । खराब प्रदर्शनपछि जनकपुरले ललित राजवंशीलाई विश्राम दिएको छ । 

चितवन प्रतियोगितामा तेस्रो जित निकाल्ने दाउमा छ । चारमध्ये दुई खेल जितेर चार अंक जोडेको चितवन प्लेअफको ढोका खोल्ने दाउमा छ । चितवनले कर्णालीलाई चार तथा विराटनगरलाई ४८ रनले पराजित गरेको थियो भने लुम्बिनीसँग ६ विकेट तथा काठमाडौंसँग ५३ रनले हारेको हो । 

लगातार चार खेलमा पराजित भएर तालिकाको पुछारमा रहेको जनकपुर पनि चितवनलाई हराउँदै प्लेअफ सम्भावना कायम राख्ने योजनामा छ । जनकपुर पहिलो खेलमा काठमाडौंसँग पाँच विकेट, दोस्रो खेलमा विराटनगरसँग नाै रन, पोखरासँग २५ रन तथा चौथो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।

तालिकामा पाँचमध्ये पाँचै खेल जितेको सुदूरपश्चिमले १० अंक जोड्दै प्लेअफमा स्थान बनाइसकेको छ । अब तीन स्थानका लागि सात टोलीबिच प्रतिस्पर्धा हुनेछ । 

आज नै हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् ।

See More On

सुझावित समाचार