सिद्धिचरण लोकमार्गमा पर्ने उदयपुरको कटारी नगरपालिका– १४, पाखिमारे त्रिचालीसभिरमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णु खड्काका अनुसार सडकबाट बोलेरो खसेर बेपत्ता भएको थियो । पछि खोजतलास गर्दा दुर्घटनाग्रस्त बोलेरोबाट चालकको शव फेला परेको हो ।
उनले भने, ‘काठमाडौंबाट ताप्ली गाउँपालिकाका लागि रिजर्भमा आएको ना.१ज ५८१२ नम्बरको बोलेराे भिरबाट खसेर दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ । उक्त बोलेरोका चालक ललितपुर महालक्ष्मी नगरपालिका– ९, लिबुका ३४ वर्षीय दीपेन्द्र केसीको मृत्यु भएको हो ।’
इन्स्पेक्टर खड्काले गएको १३ मंसिरबाट बोलेरोसहित बेपत्ता मृतक केसीको परिवार र प्रहरीले खोजी गरेर भेटिएको जानकारी दिए । उनले भने, ‘हिजो सोमबार दिउँसो बोलेरोसहित शव भेटिएको थियो । त्यसपछि परिवारले सनाखत गरेर शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कटारी अस्पताल पठाएका छौँ ।’ रातिको समयमा बोलेरो ब्याक गर्दा दुर्घटनाको भएको अनुमान प्रहरीको छ ।