जेन–जी आन्दोलनमा हतियार लुट्ने युवती लागुऔषध कारोबारी

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

प्रहरीले जेन–जी आन्दोलनका क्रममा लुटिएको हतियारसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउमध्ये कलंकीकी २८ वर्षीय रसिला जोशी लागुऔषध कारोबारी रहेको खुलेको छ। जसले स्वयम्भू वृत्तबाट प्रहरीको हतियार लुटेकी थिइन्।

रसिलासँगै प्रहरीले दार्चुला दुहुँ गाउँपालिका–४ का १९ वर्षीय डेबिड भनिने रामचन्द्र कुँवर र बाफलका ३१ वर्षीय विराटप्रसाद जोशीलाई पनि पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

उनीहरूको साथबाट नेपाल पुलिस लेखिएको ‘टाइप ५४ पेस्तोल’ बरामद भएको छ। बरामद पेस्तोल उनीहरूले गत २४ भदौको आन्दोलनका क्रममा प्रहरी वृत्त स्वयम्भूबाट लुटेर लगेका थिए। बेच्ने उद्देश्यले लुकाइराखिएको हतियार विशेष सूचनापछि बरामद भएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

उनले भने, ‘गत २४ भदौको जेन–जी आन्दोलनमा स्वयम्भू वृत्तबाट लुटिएको हतियार फेला परेको छ। हतियार लुटपाटमा संलग्न तीनजना पक्राउ परेका छन्। उनीहरू हतियार बेच्न ग्राहक खोजिरहेका थिए । यही क्रममा सूचना प्राप्त भयो र उनीहरू पक्राउ परे। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार हतियार लुट्ने घटनाका मुख्य योजनाकार रसिला हुन्। उनी लागुऔषधको कारोबारीसमेत हुन्। सोही अभियोगमा उनी गत भदौमा स्वयम्भू वृत्तको हिरासत कक्षमा थिइन्। प्रदर्शनकारीले वृत्त कार्यालय जलाएपछि उनी हिरासतबाट निस्केकी थिइन्। त्यसलगत्तै उनी पनि कार्यालय आगजनीमा उत्रिइन्।

कोतखानामा राखिएको प्रहरीको हतियार लिएर बाहिरिएकी उनलाई लिन रामचन्द्र र विराटप्रसाद पनि कार्यालय पुगेका थिए। रसिलासँगै उनीहरुले पनि कार्यालय तोडफोड र आगजनी गरेर तीनैजना सँगै घर फर्किएका थिए। प्रहरीका अनुसार रसिला गत २६ साउनमा लागुऔषध कसुरमा पक्राउ परेकी थिइन्। स्वयम्भू वृत्तको हिरासत कक्षमा राखिएकी उनीविरुद्ध अनुसन्धान चल्दै थियो।

घटना सम्बन्धमा अनुसन्धान कार्यालयका प्रवक्ता एसपी आचार्यले भने, ‘रसिलाविरुद्ध लागुऔषध कसुरमा गत २६ साउनमै मुद्दा दर्ता भएको देखिन्छ। उनलाई स्वयम्भूको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको थियो। जब २४ भदौमा हिरासत कक्ष तोडफोड भयो, उनी हतियार लुटेर फरार भएकी थिइन्।’

सुझावित समाचार