लोकतान्त्रिक शक्तिहरूसँग पनि नेकपाले सहकार्य गर्छ : प्रचण्ड

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता, नेपालीको आत्मसम्मान र लोकतन्त्रको सदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरूसँग पनि नेकपाले सहकार्य गर्ने बताएका छन् । 

सोमबार विराटनगरको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपालकाे शान्ति प्रक्रियामा लोकतान्त्रिक शक्तिहरूको पनि ठुलाे योगदान रहेकोले उनीहरूसँग सहकार्य गर्नुपर्ने बताए ।

कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा सँगै हस्ताक्षर गरेको स्मरण गर्दै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य नगर्दा संकीर्णतावादी बनिने बताए । प्रचण्डले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन लोकतान्त्रिक पार्टीसँग सहकार्य गर्नै हुँदैन भन्ने हुँदैन, त्यो संकीर्णता हुन्छ ।’  

पूर्वप्रधानमन्त्री प्रचण्डले जेन–जी आन्दोलनपछि सरकार निर्माणमा भएका कसरतबारे राष्ट्रपतिले सर्वोच्च अदालतमा चिठी पठाएपछि लोकतन्त्रको विरोधमा हल्ला गर्नेहरूको षड्यन्त्रको योजना तुहिएको समेत बताएका छन् । 

उनले जेन–जी आन्दोलनपछि राष्ट्रपतिलाई प्रतिनिधिसभा भंग गरेर अन्तरिक सरकार गठन गरेर चुनाव घोषणा गर्न सुझाव दिएकोसमेत बताएका छन् । नेता प्रचण्डले वर्तमान सरकार चुनावी सरकार मात्र नभएको कुनै पनि सन्धि-सम्झौता र महत्वपूर्ण निर्णयहरू गर्नुहुँदैन र नगर्न आग्रह गरे । उनले जेन–जीको संघर्षलाई उच्च सम्मान गरेकोले आफूहरूलाई अभिभावक मान्न थालेको बताएका छन् । प्रचण्डले भने, ‘नेकपाको एकता जेन–जी आन्दोलनले गर्दा मात्र होइन धेरै पहिलेदेखिको तयारी हो । ’ 

नेता माधवकुमार नेपालले स्वभिमानी राष्ट्र र नेपालीको रक्षा गर्नका लागि नेकपाको उदय भएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कमजोरीहरू स्वीकार गर्दै नराम्रा कामको विरोध गनुपर्नेमा जोड दिए । उनले नेकपाले मात्रै देशमा राम्राको काम गर्न सक्ने दाबी गरे ।

नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्ति पूरा गर्न नेकपाको जन्म भएको बताए । उनले समाजवादी क्रान्तिको लागि तयार हुन अपिल पनि गरे ।  
नेकपाका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको शासन प्रणालीलाई रूपान्तरण गर्न नेकपा बनेको बताए । नेता श्रेष्ठले संविधानको रक्षा गर्दै देशलाई समयअनुकूल नयाँ शासकीय प्रणालीमा लान कम्युनिस्टहरूको एउटै केन्द्र बनेर नेकपा उदाएको बताए । 

नेता भीम रावलले पूर्वप्रधानमन्त्री केपी ओलीले जनताले दिएको दुईतिहाइको जनादेशलाई मनमौजी शासन गरेर अपमान गरेको बताए । उनले ओलीको अहंकारी शासनले नै देशका जेन–जीलाई आन्दोलित हुन बाध्य पारेको आरोप लगाए । 

नेता गोपाल किराँतीले संविधानमा उल्लेख भएअनुसार देशको समाज पनि बहुल जातीय र बहुभाषिक संरचनाको हुनुपर्ने बताए । यस्तै, नेता राजेन्द्र श्रेष्ठले नेपालमा पहिलो चोटी सही विचारधारासहित नेकपा जन्मिएको बताए । 
 

सुझावित समाचार