भारतमा सम्पन्न साउथ एसिया (बिआइएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरूले बताएका छन् । भारतीय उद्योग परिसंघले नयाँदिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपालका ऊर्जा उद्यमी र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रमा तीव्र लगानी बढाउन बिआइएन देशहरूमा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । नेपाल सरकारले सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य लिएर अघि बढेको स्मरण गराउँदै उनले त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले बिटुबी लगानी लिएर नेपाल आउन आग्रह गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्रले बिआइएन विद्युत् व्यापारमा विशिष्ट रणनीति बनाएर अघि बढेमा तीव्रता दिन सकिने बताए । नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा पाँच सदस्यीय टोलीले सम्मेलनमा भाग लिएको थियो । सरकारी अधिकारीका तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं विद्युत् विकास विभागका उपमहानिर्देशक नूतनकुमार शर्मा नेतृत्वको टोली सहभागी भएको थियो ।