बढ्दै छ जलवायु उपनिवेशवादको ढाँचा

धनी देशहरूले आफूले सिर्जना गरेको जलवायु समस्याको वित्तीय दायित्व वहन गर्नुको साटो विपन्न देशमाथि आफ्ना ‘ग्रिन एजेन्डा’ थोपर्ने प्रयास गरिरहेका छन्

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

भर्खरै कोप–३० ब्राजिलमा समापन भयो । यसपटक अघिल्लो कोप (दुबईमा सम्पन्न)ले पनि सहमति गरेको ‘ट्रान्जिसन अवे फ्रम फोसिल फ्युल’ सम्बन्धमा सटिक कार्ययोजना आउँछ कि भन्ने आशा थियो । तर, त्यस्तो रोडम्याप र समयतालिका आएन । अर्थात् कार्बन उत्सर्जन घटाउन कोइला, तेल र पेट्रोल उत्खनन बन्द गरी तीव्र नवीकरणीय ऊर्जा लागू गर्ने कुरामा अझै अलमल देखियो । विशेषतः पेट्रोलियम इन्धनका प्रमुख उत्पादक राष्ट्र ‘पेट्रो–स्टेट’को हस्तक्षेपले कार्बन घटोत्तरीको ठोस सहमति हुन सकेन । 

सर्वविदितै तथ्य हो कि, विगत दुई सय वर्षको अवधिमा उच्च औद्योगीकृत सम्पन्न मुलुकबाट भइरहेको हरितगृह ग्यास (विशेषतः कार्बन डाइअक्साइड) उत्सर्जन वृद्धिका कारण विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) समस्या आएको हो । यसले जलवायु परिवर्तनका कुप्रभाव सबैतिर विस्तारित गर्यो । औद्योगीकरण सुरु हुनुअघि विश्वमा २८० पिपिएम रहेको कार्बन यतिवेला ४२५ पिपिएम पुगेको छ । अहिले पनि धनी देशहरूले प्रतिदिन १५ करोड टन (प्रतिवर्ष ४२ अर्ब टन) कार्बन उत्सर्जन गर्छन् । वैज्ञानिकहरूका अनुसार उत्सर्जन अहिलेकै दरमा बढ्ने हो भने २१औँ शताब्दीको अन्त्यमा पृथ्वीको औसत तापमान पूर्वऔद्योगिककालको तुलनामा १.५ भन्दा बढी झन्डै २.६ डिग्री वृद्धि हुन सक्छ । यसले पर्यावरणमा प्रलयंकारी समस्या आउँछ । विशेषतः जीवहरूको छैटौँ आमविलोपन सुरु हुने र मानव सभ्यता नै नाशिन सक्ने प्रक्षेपण छ । 

‘पेरिस सहमतिपत्र २०१५’ले सन् २०५० भित्रै विश्वका सबै मुलुकले कार्बन उत्सर्जन नेट–जिरोमा पुग्नुपर्ने लक्ष्य लिएको छ । यो लक्ष्यप्राप्ति गर्न अर्थतन्त्रलाई ‘डिकार्बनाइजेसन’(कार्बनमुक्त) गर्दै लैजानुपर्छ भनिएको छ । खासगरी, विश्वका सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने अति औद्योगीकृत देशहरूको समूह जी–७ र जी–२० ले यसमा विशेष मिहिनेत गर्नुपर्छ । डिकार्बनाइजेसन गर्दा तेल, डिजल, कोइला, पेट्रोलजस्ता जीवाश्म ऊर्जाको प्रयोग उल्लेख्य घटाउनुपर्ने हुन्छ । 

जलवायु तथ्यांकदेखि वायुमण्डल–मौसमी सूचना र हरित ज्ञान मिमांसामा युरोप–अमेरिकी धुरीका विकसित देशहरूको एकाधिकार छ । ‘ग्लोबल साउथ’का करिब १३४ देशले आफ्नो कार्बन न्यूनीकरणसम्बन्धी राष्ट्रिय योजना कार्यक्रम बनाउँदा धनी देशकै प्रविधि र वित्त ताक्नुपर्ने स्थिति छ । 

युरोप र उत्तर अमेरिकामा रहेका धनी देशहरू पहिले दक्षिणी गोलार्धका विपन्न देशमाथि उपनिवेशवाद लादेका थिए । अहिले धेरै कार्बन उत्सर्जन गर्ने तिनै देश कार्बन कटौतीको भार भने ग्लोबल साउथका डेढ सयभन्दा बढी देशमाथि पार्न खोज्दै छन् । ‘नेट–जिरो’ कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न पर्याप्त हरित वित्त, उच्च प्रविधि, हरित ऊर्जालगायतको प्रबन्ध गर्ने दायित्व उनीहरूकै काँधमा पर्छ । त्यस दिशामा उनीहरू आनाकानी गर्छन् ।

धनी देशहरू ग्लोबल साउथलाई हरित वित्त र कार्बन कटौती गर्ने प्रविधिमा सहयोग गर्ने भने पनि प्रायः जलवायु ऋण वा उधारो सापटी उपलब्ध गराउने अवधारणामा जोड दिन थालिएको छ । यसैअन्तर्गत आइएमएफ र विश्व बैंकमार्फत ऋण प्रवाह बढाउन लागेका छन् धनी देश । अर्को विडम्बना, ती बैंकहरूले ‘क्लाइमेट फाइनान्सिङ (जलवायु वित्तपोषण)’का लागि शोषणमा आधारित औपनिवेशिक व्यूह संरचना बनाएका छन् । अर्थात् आउने दिनमा डरलाग्दो वित्तीय ऋण पासोमा फस्दै छन् गरिब देशहरू । यसलाई जलवायु उपनिवेशवादको ढाँचा भनिन्छ । 

सन् २००९ मा कोपनहेगनमा सम्पन्न कोप–१५ सम्मेलनमा विकासशील देशहरूलाई धनी देशले क्षतिपूर्तिका रूपमा हरेक वर्ष १०० अर्ब डलर दिने सहमति भएको थियो । यो वित्तराशि उपलब्ध गराइएको छैन । कैयौँ पर्यावरणीय लेखकहरूले जलवायु उपनिवेशवादले गरिब देशहरूउपर गरेका संरचनागत अन्यायबारे लेख्न थालेका छन् । पन्ध्राैँ शताब्दीपछि सुरु भएको शास्त्रीय उपनिवेशवादका क्रममा युरोपका धनी देशहरूले एसिया, अफ्रिका र लेटिन अमेरिकामा बलजफ्ती शक्ति प्रयोग गरे । ती समाजका स्रोतसाधनमाथि अधिक दोहन गर्दै युरोपमा जम्मा गर्ने गर्थे ।

अर्थात्, आफूले उपनिवेश बनाएको भेगबाट ठुलो परिणाममा तेल, ग्यास, सुन, हिरामोती, कोइला, वनपैदाबार, कृषिउपज आदि लुटेर युरापे पुर्याइयो । आज त्यही मानसिकताबाट प्रेरित भएर धनी देशहरूले आफूले सिर्जना गरेको जलवायु समस्याको वित्तीय दायित्व वहन गर्नुको साटो विपन्न देशमाथि आफ्ना ग्रिन एजेन्डा थोपर्ने प्रयोग गरिरहेका छन् । यो आपूmले हरितगृह उत्सर्जन नघटाउने चालबाजीअन्तर्गत भइरहेको छ । 

जलवायु तथ्यांक, कोप सम्मेलन, वायुमण्डल–मौसमी सूचना र हरित ज्ञान मिमांसामा पनि युरोप–अमेरिकी धुरीका विकसित देशहरूको एकाधिकार छ । जबकि ग्लोबल साउथका १३४ देश आफ्नो कार्बन न्यूनीकरणसम्बन्धी राष्ट्रिय योजना कार्यक्रम बनाउँदा धनी देशकै प्रविधि र वित्त ताक्नुपर्ने स्थिति छ । तर, हरित जलवायु वित्त, अनुकूलन कोष, लस एन्ड डेमेज कोषजस्ता जलवायु वित्तको संरचना भने उपनिवेशवादी ढाँचामा बनेको छ । ग्लोबल साउथलाई धनी देशले आफ्नै सार्वभौम वित्त र जिडिपी रकम खर्च प्रयोग गरी कार्बन उत्सर्जन कटौती गर्ने कार्यक्रम लागू गर्न बाध्यता बनाइँदै छ । 

 अर्थतन्त्रमा संरचनागत पासो :  लामो समयदेखि उपनिवेशवादविरुद्ध आवाज उठाइरहेका डेन्सन विश्वविद्यालयका प्रा. फाडेल काबुबका अनुसार नेट–जिरो लक्ष्यका लागि ग्लोबल साउथका विकासशील देशहरूलाई धनी मुलुकहरूले आइएमएफ र विश्व बैंकमार्फत अर्थतन्त्रको संरचनागत समायोजन गर्न दबाब दिँदै आएका छन् । यसले गरिब मुलुकमा धेरै प्रकारका संरचनागत पासो (स्ट्रक्चरल ट्र्याप) निर्माण गर्छ, जुन पासोमार्फत जलवायु उपनिवेशवादलाई कार्यान्वयन गरिएको काबुबको भनाइ छ । यसले लगानी र नवप्रवर्तनमा अवरोध पुर्याउने भएकाले मध्यम आय भएका अर्थतन्त्रलाई माथिल्लो आयको विकसित अर्थतन्त्रमा जान समस्या खडा हुन्छ ।

क) खाद्य सम्प्रभुसत्ता कमजोर गर्ने :  विकासशील देशहरूमा जनसंख्या बढी छ । त्यहाँको अर्थतन्त्र कृषिमा आधारित छ । अधिकांश जमिन र भूमि साना कृषकहरूको स्वामित्वमा रहन्छ । तर, धनी देशले दिने ऋणमा कृषि उत्पादकत्व बढाउने नाममा अर्थतन्त्रको संरचनागत समायोजनको सर्त थोपरिएको हुन्छ । यसले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन क्षेत्रमा जोड बल गर्छ । तर, यस्तो योजनाले ठुला किसान मात्रै लाभ पुर्याउँछ । साना किसानी, रैथाने कृषि ज्ञान–अभ्यास, रैथाने बाली उत्पादन, आदिवासी कृषि उत्पादन पद्धति, अर्गानिक कृषिक्षेत्र (जस्तो पर्माकल्चर), हराउने जोखिम रहन्छ । 

यस्तो अभ्यासले उत्पादन अभ्यासलाई लोपोन्मुख बनाउँदै खाद्यान्न अभाव सिर्जित गर्छ फलतः खाद्य सम्प्रभुसत्तालाई कमजोर बनाउँछ । यसै परिदृश्यमा भूमण्डलीकृत कृषि उपनिवेशवादले प्रवेश गर्छ । सुक्खा प्रतिरोधी बिउ, बढी उत्पादन दिने अन्न वा पशुपक्षीजस्ता आकर्षक नारामा बहुराष्ट्रिय कम्पनीका हाइब्रिड बिउविजन, जैविक प्रविधि, किटनाशक औषधि र रासायनिक मल भित्रिन्छन् र स्थानीय कृषि पद्धति समाप्ति गर्छ । कृषि उत्पादनका राष्ट्रिय नीति बनाउँदा विकासशील देशहरू सचेत बनेनन् भने उनीहरू खाद्य उत्पादनमा परनिर्भर बन्छन् र धनी देशहरूबाट खाद्यान्न आयात गर्न बाध्य बनाइन्छन् । यो कृषि उपनिवेशवाद हो । 

ख) ऊर्जा सम्प्रभुसत्ता खोस्ने डिकार्बनाइजेसनका नाममा जलवायु परिवर्तन व्यवस्थापन गर्न पेट्रोल, तेल, डिजेल, बायोमास, कोइला र दाउराजलनमाथि निषेध गरिँदै छ । जबकि यसले गरिब देशहरूको ऊर्जा सार्वभौमिकतामा असर गर्छ । स्वच्छ–नवीकरणीय ऊर्जाका रूपमा प्रवद्र्धन गरिने सोलार, आणविक ऊर्जा वा जलविद्युत् प्रोजेक्टका लागि धेरै जग्गा अधिग्रहण गर्नुपर्छ । यी परियोजनामा रैथाने र आदिवासीहरू मूल थलोबाट लखेटिन्छन् । ठुल्ठुला बाँध र जलाशययुक्त बाँधका कारण स्थानीय तालतलैया, सिमसार क्षेत्र, जलाधार क्षेत्र हराउँछन् । सिँचाइ कुलो हराउँछ । यसले वनजंगल, जलस्रोत र प्राकृतिक स्रोतको स्थानीय र सामुदायिक अधिकार समाप्त गरिदिन्छ । यस्ता प्रपञ्चबाट यी प्राकृतिक स्रोत धनी देशहरूकै नियन्त्रणभित्र पर्न जान्छन् ।

ग) न्यून मूल्य अभिवृद्धि उत्पादन :  जलवायु परिवर्तन व्यवस्थापन गर्ने नाममा ल्याइएका ऋण वा अनुदानमा भित्रने औद्योगिक संयन्त्र वा उत्पादन क्षेत्र पनि न्यून मूल्य अभिवृद्धिको पासोमा पर्छ । अर्थतन्त्र स्तरोन्नतिको बाहनामा विश्वव्यापार संगठनले दिएको भन्सार प्रोत्साहन कटौती गर्दा यो समस्या पैदा भएको हुन्छ । गरिब देशहरूको उत्पादन बिक्री हुँदैन, र कच्चा पदार्थ भने उनै धनी देशहरूले लैजान्छन् । इभी गाडी र नवीकृत ब्याट्रीमा प्रयोग गरिने लिथियम, कोबाल्ट, थोरियमजस्ता दुर्लभ खनिजमा घुमिफिरी उनीहरूले कब्जा हुने कुरा यसैको उदारण हो ।

 हरित अर्थतन्त्र : जलवायु उपनिवेशवादको जाँतो : ‘ओकेड (२०२१)’को एक प्रतिवेदनका अनुसार विकासशील देशहरूले सन् २०३० पछि जलवायु परिवर्तनको कारण बर्सेनि आफ्नो जिडिपिके १५ प्रतिशतसम्म नोक्सानी व्यहोर्नुपर्ने देखाएको छ । अझ, केम्ब्रिज युनिभर्सिटीका प्रा. कामिअर मोहदेशको अध्ययनले २४ प्रतिशत जिडिपीसम्म प्रभावित हुने देखाएको छ । यस्तो आर्थिक हानि–नोक्सानी रोकथाम गर्न अहिले हरित अर्थतन्त्रको अवधारणा अघि सारिएको छ । ‘ग्रिन ग्रोथ इकोनोमी (हरित वृद्धि अर्थतन्त्र)’, ‘पोस्ट ग्रोथ इकोनोमी (उत्तरवृद्धि अर्थतन्त्र)’, ‘ग्रिन इकोनोमी (हरित अर्थतन्त्र)’, ‘लो कार्बन–इकोनोमी (न्यून कार्बन अर्थतन्त्र)’ वा ‘जिरो कार्बन–इकोनोमी (शून्य कार्बन–अर्थतन्त्र)’ आदि मोडालिटीमा बहस भइरहेको छ ।

यी सबै प्रारूपले जीवाश्म ऊर्जामा आधारित उत्पादन प्रणाली विस्थापन गरेर स्वच्छ ऊर्जा अवलम्बन गर्ने कुरामा जोड दिन्छ । अचेल कार्बनडाइअक्साइड र मिथेन उत्सर्जन नगर्ने हरित ज्ञान र हरित प्रविधिको आविष्कारमा निकै जोड दिइने गरिएको छ । हरित अर्थतन्त्रले कार्बन न्यूनीकरण गर्दा ‘एभोइडिङ’ र ‘रिमुभिङ’ सिद्धान्त अपनाउँछ । कार्बन ‘एभोइडिङ’मा उत्पादनस्थलमा नै कार्बन उत्सर्जन हुन पाउँदैन भने ‘रिमुभिङ’मा बाहिर निस्केको कार्बन पूर्नसञ्चितीकृत गरी हावाबाट खिच्ने प्रविधि पर्छन् । यसअन्तर्गत कार्बन–व्यापार, कार्बन–कर, हरित वित्त, क्याप एन्ड ट्रेड, ‘कार्बन क्याप्चर एन्ड स्टोरेज’ र ‘कार्बन अफसेट’जस्ता विधि अवलम्बन भएका हुन्छन् । कार्बन उत्सर्जक धनी देशहरूले दोस्रो सिद्धान्तमा बढी जोड दिइरहेका छन् ।

अब प्रश्न उठ्छ के हरित प्रविधिमा आधारित अर्थप्रणालीले मात्रै हामीलाई नेट–जिरोसम्म पुर्याउला त ? यो सम्भव देखिँदैन । किनकि यो पनि अधिक स्रोत खपत र नाफामुखी प्रणाली हो । यस ढाँचाको पुँजीवादले उन्नत प्रविधिमा रहेर प्राकृतिक स्रोतदोहनमै जोड दिन्छ । यसले पनि ‘प्लानेटोरी ओभरसुट’ पैदा गर्छ । खासमा, पुँजीवादी प्रणाली नै जलवायु परिवर्तनका लागि जिम्मेबार भएकाले त्यसलाई नत्यागी समस्याको रोकथाम सम्भव छैन । धेरै पुँजी, धेरै ऊर्जा र उन्नत विज्ञानमा निर्भर उच्च प्रविधिको आविष्कार धनी देश मात्र गर्छन् । ‘पेटेन्ट’ अधिकार उनीहरूसँगै रहन्छ । उत्पादन संयन्त्र गरिब देशलाई बेच्छन् अनि त्यही मेसिनरीमार्फत आफैँले उत्सर्जन गरेको कार्बन हामीकहाँ शोषण गराउँछन् । यसैले हरित अर्थतन्त्र पनि जलवायु उपनिवेशवाद लाद्ने नवउदारवादी नाफाखोर पुँजीवादी चक्रव्यूह हो ।

नेपालसहित दक्षिणी गोलाद्र्धका सबै विकासशील देशहरू जलवायु नवउपनिवेशवादको चंगुलमा पर्नबाट जोगिन जरुरी छ । रैथाने–पर्यावरणमैत्री, सार्वभौम र स्वाधीन अर्थतन्त्र डगमगाउन दिनुहुँदैन । तसर्थ, अर्थतन्त्रका संरचनागत सुधार र नीतिगत समायोजन गर्दा यस्ता खाले वन कार्बन बिक्री, सिडिएम, रेडप्लस, कार्बन–व्यापार, हरितकर, ट्रेण्ड एन्ड क्यापजस्ता अनेकन नवऔपनिवेशिक व्यूह रचनाबाट जोगिँदै स्वाधीन राष्ट्रिय आर्थिक–सामाजिक रूपान्तरणका नीतिहरू बनाउनतर्फ हामी हमेसा सचेत भइरहनुपर्छ । 

सुझावित समाचार