कांग्रेसमा महाधिवेशन विवाद : २८ पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापनको तयारी

आज दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक त्यसअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग छलफल गर्ने

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै निवेदन दर्ता गराएका छन् । विधानतः ४०% प्रतिनिधिले  यस्तो माग गरे तीन महिनाभित्र (अहिलेको हकमा २८ पुससम्म) विशेष महाधिवेशन गर्नैपर्छ । संस्थापन पक्ष २८ पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विशेष महाधिवेशनको मुद्दा निष्क्रिय पार्ने रणनीतिमा छ । इतरसमूहले पुसमा महाधिवेशनको सुनिश्चितता खोजेको छ ।

चुनावअघि वा पछि र विशेष वा नियमित महाधिवेशन भनेर दुई महिनादेखि विवादको भुमरीमा फसेका कांग्रेस नेताहरूबिच पुस अन्तिम साता १५औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको छ । शीर्ष सहमतिसँगै २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति खड्काले कार्यतालिका प्रस्तुत गर्नेछन् ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतबिचको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो । यद्यपि, डेढ महिनाको अवधिमा महाधिवेशन प्रक्रिया पूरा गर्न भने त्यति सहज हुनेछैन । 

महाधिवेशनको कार्यतालिकाबारे खड्काले सोमबार बिहान थप छलफल गर्नेछन् । बैठक सुरु हुने वेलासम्म कार्यतालिकाले अन्तिम रूप पाउने बताइएको छ । बैठक सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाएको छ । सो बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव खड्काले निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । यसअघि महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन कार्यतालिकाबारे अलग–अलग प्रस्ताव राखेका थिए । सोही कारण सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले पेस गर्न लागेको एक नेताले बताए । बैठकअघि खड्काले नेताहरूसँग थप छलफल गरेर निर्णयार्थ प्रस्ताव गर्नेछन् ।

प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्कालगायतले गृहकार्य गरिरहेको बताए । ‘पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन कार्यवाहक सभापतिलगायतले गृहकार्य गर्नुभएको छ,’ देउवानिकट मानिने नेता डा. महतले भने, ‘सोमबारको बैठकमा महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने तयारी छ ।’

तर, इतरपक्षले भने कार्यतालिका मात्रै नभई महाधिवेशन हुने सुनिश्चितता खोजेको छ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने इतरपक्षको चेतावनी छ । महामन्त्रीद्वय थापा र शर्माले त्यसको अगुवाइ गरेका छन् ।सहमहामन्त्री जीवन परियार तालिका मात्रै भन्दा पनि महाधिवेशनको ग्यारेन्टी हुनुपर्ने बताउँछन् । ‘कार्यतालिका मात्रै ल्याएर हुँदैन । महाधिवेशनको ग्यारेन्टी हुनुपर्छ । बैठकमा कसरी प्रस्ताव आउँछ, त्यसको आधारमा थप कुरा हुन्छ,’ इतरपक्षका नेता परियारले भने । 

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत २९ असोजमा हस्ताक्षर बुझाएका थिए । विधानअनुसार त्यसरी हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । तीन महिना २८ पुसमा पुग्ने भएकाले सो अवधिभित्रै नियमित महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका ल्याउने तयारी संस्थापन पक्षले गरेको हो । 

२८ असोजमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिमा सहमति नभएपछि अनिर्णीत हुँदै आएको छ । बैठक रोकेर पटक–पटक छलफल हुँदासमेत सहमति जुट्न सकेको छैन । कार्यवाहक सभापति खड्का सहमति नभएसम्म बैठक सारिरहने अडानमा छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पछिल्लो समय नियमित बैठक स्थगित भएको सूचना प्रकाशित गर्दै आएका थिए ।

संस्थापन पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहेपछि सभापति देउवा, कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले समन्वयकारी भूमिका खेलेका थिए । तर, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने निर्वाचनअघि महाधिवेशन हुन नसक्ने बताउँदै आएका छन् । निर्वाचनअघि महाधिवेशनको मिति तोकिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी उनीहरूको छ । उनीहरूसँग खड्काले बैठकअघि छलफल गर्ने भएका छन् । 

 डा. प्रकाशशरण महत, प्रवक्ता
पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन कार्यवाहक सभापतिले गृहकार्य गर्नुभएको छ । सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारी छ ।

जीवन परियार, सहमहामन्त्री
महाधिवेशनको कार्यतालिका मात्रै ल्याएर हुँदैन । महाधिवेशन हुने सुनिश्चितता पनि गर्नुपर्छ । बैठकमा कसरी प्रस्ताव आउँछ, त्यसको आधारमा थप कुरा हुन्छ । 

तर, निधि र सिटौला चुनावपछि मात्रै महाधिवेशनको पक्षमा
पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने निर्वाचनअघि महाधिवेशन हुन नसक्ने 
बताउँदै आएका छन् । निर्वाचनअघि महाधिवेशनको मिति तोकिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी उनीहरूको छ । उनीहरूसँग खड्काले बैठकअघि छलफल गर्ने भएका छन् । 

 निर्वाचनअघि महाधिवेशन गर्न समय अभाव हुने संस्थापन पक्षकै निष्कर्ष 
आइतबार मात्रै संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले निर्वाचनअघि महाधिवेशन गर्न समय अभाव हुने निष्कर्ष निकालेको छ । राजधानीमा भएको भेलाले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको कार्यतालिकामा ध्यान दिनुपर्ने भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु व्यावहारिक हुने ठहर गरेको छ । ‘फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र माघमा हुने राष्ट्रिय सभा निर्वाचनको तयारी गर्नुपर्ने हुन्छ । त्यसमा पार्टी लाग्नुपर्छ । त्यसकारण ती निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने हाम्रो निष्कर्ष हो,’ बैठकमा सहभागी एक नेताले भने, ‘विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नभई नियमित महाधिवेशनको कार्यतालिका आए पनि नमान्ने समझदारी छ ।’ 

 विशेष महाधिवेशन नै गर्न २७ जिल्ला सभापतिको माग
विशेष महाधिवेशन पक्षधर प्रदेश र जिल्ला सभापतिहरूले बहाना नगरी विशेष महाधिवेशनको मिति तोक्न माग गरेका छन् । ‘बहाना नबनाइयोस्, विलम्ब नगरियोस्, अविलम्ब विशेष महाधिवेशनको निर्णय गरियोस् । अन्यथा निर्णय स्वीकार्य छैन । महाधिवेशनमार्फत नयाँ नीति, विधि र नेतृत्वसहित नवीन ऊर्जाका साथ समयावधिभित्रै विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउँदछौँ,’ आइतबार प्रेस विज्ञप्ति जारी गरेर उनीहरूले भनेका छन् । 

 कायमै छ सदस्यताको विवाद
कांग्रेसमा क्रियाशील सदस्यताकै विवाद टुंगो लागेको छैन । विवाद टुंग्याएपछि अधिवेशन सुरु हुन्छ । त्यसैले, इतरपक्षले महाधिवेशनको सुनिश्चितता खोजेको छ । वडा अधिवेशन गरेर क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर महाधिवेशनमा जान सकिने संस्थापन इतरपक्षको दाबी छ । त्यसरी जाँदा पुसमा महाधिवेशन गर्न सकिने उनीहरू बताउँछन् । ‘वडा अधिवेशन तत्काल आह्वान गरेर क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि चयन गरेर जान सकिन्छ । त्यसरी जाने कार्यतालिकासहित अगाडि बढ्यौँ भने पुसमा नियमित महाधिवेशन हुन सक्छ,’ इतरपक्षका एक नेताले भने । विशेष महाधिवेशन गर्दा भने अहिलेकै महाधिवेशन प्रतिनिधि कायम रहन्छन् । त्यसैले, छोटो अवधिमा महाधिवेशन गर्न सकिन्छ ।

सुझावित समाचार