एमालेको महाधिवेशन प्रतिनिधि छनोटको लागि भएको निर्वाचनको मतगणनाका क्रममा विवाद भएपछि तनहुँ–१ मा मतगणना स्थगित भएको छ।
मतगणना गर्ने क्रममा उम्मेदवारहरूबिच विवाद भएपछि शनिबार राति १२ बजेपछि गणना स्थगित भएको थियो। मत गन्ने क्रममा जिल्ला अध्यक्ष हरिराज कँडेल र उम्मेदवार पूर्णबहादुर गुरुङबिच हात हालाहाल भएको थियो। त्यसपछि गणना रोकिएको हो। मतगणना सुरु गर्ने विषयमा पटक-पटक छलफल भए पनि आइतबार रातिसम्म सहमति हुन नसकेको एमालेका जिल्ला उपाध्यक्ष राजेश्वर ढकालले जानकारी दिए।
मतगणनाकै क्रममा सामान्य हात हालाहाल भएको जिल्ला अध्यक्ष हरिराज कँडेलले बताए। त्यसपछि सहमतिको प्रयास गरिए पनि सम्भव नभएपछि शनिबार राति नै गणना स्थगित गरिएको हो। अहिले पनि सुरु गर्न पटक-पटक छलफलमा बसिरहेका छौँ, तर निष्कर्ष निस्किएको छैन। सोमबार बिहानसम्म टुंगोमा पुग्छौँ,’ उनले भने।
तनहुँ क्षेत्र १ मा संगठित सदस्य संख्या दुई हजार ४०७ रहेकोमा एक हजार १६२ मत खसेको थियो। तनहुँ क्षेत्र २ मा भने ६ जना सर्वसम्मत चयन भएका छन्।