मन्त्री घिसिङले गरे निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन्।

सहरी विकास मन्त्रालयमातहतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शय्याको दुईवटा भवन निर्माणाधीन छन्। मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गरेका हुन्।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालको भौतिक संरचना निर्माण प्रगति अपेक्षाकृत हुन नसकेकाले जनशक्ति थप गरी तीन सिफ्टमा काम गर्न र गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई घिसिङले निर्देशन दिए।

उनले निर्माण कार्यको नियमित अनुगमन गर्ने र काममा लापरबाही गरेको फेला परेमा जिम्मेवार सबैलाई कारबाही गर्ने चेतावनीसमेत दिए। अस्पताल प्रशासनका तर्फबाट भवन तयार नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भइरहेकाले निर्माणमा विशेष ध्यान दिन मन्त्रीसमक्ष अनुरोध गरिएको थियो।

कोशी अस्पतालको पाँच सय शय्याको मेडिकल भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ। उक्त भवन निर्माणका लागि पुस ०७९ मा दुई अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको म्याद आगामी १२ पुसमा सकिँदै छ। निर्माण व्यवसायीलाई ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी, इसियू, सर्जिकल, न्युरो सेवा उपलब्ध गराउन २५९ शय्याको भवन निर्माणका लागि असार ०७८ मा रमण–भूमि–बिआइपिएल जेभीसँग ठेक्का सम्झौता भएको थियो। भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ। म्याद थपसहित सम्झौताको म्याद गत कात्तिकमै सकिएको छ। निर्माण व्यवसायीले ठेक्का सम्झौताको म्याद थप गर्न निवेदन पेस गरेको छ। ठेक्का सम्झौता रकम ३८ करोड ८७ लाख रुपैयाँ रहेको छ। निर्माण व्यवसायीलाई १६ करोड ३१ लाख भुक्तानी भइसकेको छ।

सुझावित समाचार