महाधिवेशनका लागि कञ्चनपुरमा एमाले प्रतिनिधि छनाेट

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको आउँदो २७ देखि २९ गते मंसिर ०८२ काठमाडाैंमा हुने ११औँ महाधिवेशनका लागि कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधि छनाेट गरिएका छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत र दुईमा चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनाेट गरिएका हुन् । 

नेकपा एमाले कञ्चनपुरका उपसचिव अशोककुमार चन्दले निर्वाचन क्षेत्र १ र ३ मा चुनावी प्रक्रिया र क्षेत्र २ मा सहमतीय आधारमा महाधिवेशन प्रतिनिधि छनाेट गरिएको बताए । 

निर्वाचन क्षेत्र १ मा सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा (पातल) र बेलडाँडीबाट कल्पना गिरी निर्वाचित भएका छन् । 
पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका थापा सर्वाधिक मत ६३९ र कल्पना गिरी ५१४ मतका साथ निर्वाचित भएका हुन् । 

जनयुद्धकालीन नेता पातल माओवादीमा हुँदा कुनै जिम्मेवारीमा थिएनन् भने गिरीले ०७४ र ०७९ दुईपटक बेलडाँडी गाउँपालिका उपप्रमुखकी उम्मेदवार बनेकी थिइन् । यस्तै, क्षेत्र १ बाटै एमाले जिल्ला सचिव पल्लवराज भट्टले ४९९८ मत ल्याएर यसपटक पनि महाधिवेशन प्रतिनिधि सुरक्षित बन्न सफल भएका छन । कल्पना चौधरी ५१७, काशीराम बोहरा ५२१ मतका साथ निर्वाचित भएका छन । 

क्षेत्र ३ मा पूर्वसांसद डा. दीपकप्रकाश भट्ट पनि सर्वाधिक मतका साथ निर्वाचित भएका छन् । भट्ट ५६७, पार्टी जिल्ला उपाध्यक्ष जनकराज अवस्थी ३३७ र युवानेता ओम बस्नेत ३५१ मतका साथ निर्वाचित भएका हुन् ।

दलिततर्फ पुनर्वासका आरपी सार्कीले ७४ मत फरकका साथ पुनर्वासकै दलित नेता भारमत सुनारलाई पराजित गर्दै महाधिवेशन प्रतिनिधि बने ।

सार्कीले १७२ र सुनारले ९८ मत ल्याएका थिए । यस्तै, दलित महिलातर्फ लक्ष्मी विक, क्षेत्र ३ बाटै महिला कोटामा चिनी गिरी पहिल्यै निर्वाचित भएका थिए ।

नेकपा एमाले युवानेता जगत सिंहले सबै क्लस्टरतर्फ सर्वसम्मतको प्रयासअनुरुप महाधिवेशन प्रतिनिधि छनाेट गरिएको बताए । त्यसैगरी निर्वाचन क्षेत्र २ बाट शुक्लाफाँटा नगरका मेयरसमेत रहेका युवानेता रणबहादुर महरा, बचनबहादुर सिंह, पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढा, युवा प्रवीण बोगटी र पार्वती जोशी निर्विरोध चयन भएका छन् । 

सुझावित समाचार