प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)को सहभागितामा विज्ञापन व्यवसायसँग सम्बन्धित रहेक व्यक्तिहरूको क्लब ‘एड क्लब अफ नेपाल’ले ‘एक एड देशमा’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा महजोडीले आफ्नो कलायात्राका विविध चरण, करिअरका उतार–चढाव र प्रारम्भिक दिनका तीतामिठा स्मृतिहरू खुलाएर सुनाएका थिए । सामाजिक विज्ञापनबाट सुरु भएको उनीहरूको यात्राले कसरी व्यावसायिक विज्ञापन क्षेत्रमा समेत नयाँ उचाइ हासिल गऱ्यो भन्ने विषयमा पनि उनीहरूले आ–आफ्नो अनुभव बताए । कामका सिलसिलामा देश–विदेशमा पुगेका रोचक प्रसंगहरू पनि उनीहरूले साझा गरे ।
विज्ञापन तथा बजार व्यवस्थापन क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूबिच भेटघाट र चिनजान हुनुको साथै र ज्ञान–अनुभव आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजनक एड क्लब अफ नेपालले बताएको छ ।
बजारमा कुनै पनि कम्पनीका ब्रान्ड एम्बासडरहरू छोटो अवधि देखिनु सामान्य हो । तर, महजोडी भने पछिल्लो १४ वर्षदेखि सानिमा बैंकका स्थायी ब्रान्ड एम्बासडरका रूपमा निरन्तर सक्रिय छन्। विज्ञापन क्षेत्रमा उनीहरूको लामो यात्रालाई उदाहरणीय मानिएको छ।
मह जोडीले हास्यकला मात्र होइन, विज्ञापन र बजार व्यवस्थापनको क्षेत्रमै पनि जीवनको ठुलो समय समर्पण गरेको भन्दै कार्यक्रममा सहभागी भएकाले बताएका छन् ।
कार्यक्रममा श्रव्यदृश्य विज्ञापन निर्माणतर्फ उल्लेखनीय योगदान पुऱ्याएको भन्दै जी–२१ प्रोडक्सन, ज्याज प्रोडक्सन र ग्लिटर्स स्टुडियो एन्ड प्रोडक्सनलाई विशेष सम्मानपत्र प्रदान गरिएको थियो। साथै, एड क्लब अफ नेपालले टाउनहल शैलीमा सञ्चालन गरेको कार्यक्रममा महजोडीसँगै विज्ञापन तथा बजार व्यवस्थापनमा संलग्न अन्य व्यक्तित्वहरूले पनि आफ्ना अनुभव सुनाएका थिए ।
विज्ञापन तथा बजार व्यवस्थापनको विषय चर्चा गर्न एड क्लब अफ नेपालले आयोजना गर्ने कार्यक्रमको यो संकरणकाे कार्यक्रममा सानिमा बैंक प्रमुख प्रायोजक रहेको थियो । यसैगरी, कान्तिपुर म्याक्स, गोर्खा बियर र श्लोक हिमालयन प्रिमियर ह्विस्की साझेदारका रूपमा सहभागी थिए। यो संकरणमा विशेष अतिथिको रूपमा महजोडी आएजस्तो पहिलो संकरणमा रोविन लामा र दोस्रो संकरणमा पारस खड्काको उपस्थिति रहेको थियो । र, आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको एड क्लब अफ नेपालले जनाएको छ ।
कार्यक्रममा एड क्लब अफ नेपालका गभर्नर विधान राजभण्डारीले सञ्चालन गरेका थिए। यसबका साथै जोइन्ट गभर्नर विशालपुरुष ढकाल र दीपेन्द्र टन्डन सहआयोजक थिए भने कार्यकारी समिति सदस्य आश्रा भट्टराई, अनुपम अधिकारी, विकास खतिवडा तथा संयुक्त कोषाध्यक्ष अरुणकाजी स्थापितले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।