चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा सिमेन्टको निर्यात झन्डै २७ प्रतिशतले बढेको छ । नेपालबाट साउनदेखि कात्तिक मसान्तसम्ममा झन्डै एक अर्ब रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २६.८४ प्रतिशत अर्थात् साढे ३१ करोड रुपैयाँले बढी हो ।
भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्ममा २० करोड ७४ लाखको क्लिंकर र ७७ करोड ३३ लाखको सिमेन्ट निर्यात भएको हो । अघिल्लो वर्षको चार महिनामा भने ६६ करोड ५८ लाख रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । उच्च मूल्य अभिवृद्धि हुने सिमेन्टको निर्यात अर्थतन्त्रकै लागि महत्वपूर्ण मानिने व्यापारीविद् बताउँछन् । नेपालको कुल निर्यात व्यापारमा सिमेन्ट र क्लिंकरको हिस्सा एक प्रतिशतबराबर रहेको छ ।
हाल नेपालमा सिमेन्ट र क्लिंकर उत्पादन गर्ने उद्योग १६ वटा र सिमेन्ट उत्पादन गर्ने उद्योग ४४ वटा रहेको नेपाल सिमेन्ट उद्योग संघले जनाएको छ । यसमध्ये अर्घाखाँची, पाल्पालगायत केही उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन् ।
पछिल्ला तथ्यांकले सिमेन्टको निर्यात बढेको देखिएको भए पनि यो अपेक्षाकृत र उत्साहजनक नभएको नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारू बताउँछन् । सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान रोकेपछि सिमेन्टको निर्यातसमेत उत्साहजनक रूपमा बढ्न नसकेको उनको भनाइ छ । ‘बिचमा विभिन्न समस्या देखिए, बिजुलीको समस्या देखियो, सरकारले पनि निर्यातको अनुदान रोकेको छ,’ उनले भने, ‘यसकारण सिमेन्टको निर्यात धेरै बढ्न सकेको छैन ।’
आयात किन बढ्यो ?
भन्सार विभागको तथ्यांकले चालू आवको चार महिनामा क्लिंकर तथा सिमेन्टको आयात उच्चदरमा बढेको देखाउँछ । यस अवधिमा ४२ करोड ४० लाखको क्लिंकर र आठ करोड २० लाखको सिमेन्ट गरी कुल ५० करोड ६० लाखको आयात भएको देखिन्छ । जबकि, गत आवको सोही अवधिमा सात करोड ४६ लाखको मात्रै क्लिंकर तथा सिमेन्ट आयात भएको विभागको तथ्यांक छ । एक्जिम बैंकबाट ऋण लिएर अघि बढाइएका परियोजनामा सम्बन्धित देशले आफ्नै देशको सिमेन्ट प्रयोग गर्ने गरेकाले आयात बढेको हुन सक्ने संघका अध्यक्ष मारूले बताए । ‘भारतको सहयोगमा बनेका परियोजना वा चीनको सहयोगमा बनेका परियोजनमा उनीहरूले आफ्नै उत्पादन प्रयोग गर्छन्, त्यसले गर्दा पनि आयात बढेको देखिएको हुन सक्छ,’ उनले भने, ‘तर, हामी सिमेन्ट तथा क्लिंकरमा आत्मनिर्भर छौँ ।’