निर्वाचनले मात्र देशलाई संकटबाट मुक्ति दिन सक्छ : गजुरेल

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी फागुनमा हुने आमनिर्वाचनले मात्र देशलाई राजनैतिक संकटबाट मुक्ति दिलाउन सक्ने बताएका छन् । 

शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता गजुरेलले जेन–जी आन्दोलनपछि उत्पन्न गम्भीर संकटलाई आगामी २१ फागुनमा हुने चुनावले मात्र देशलाई निकास दिलाउन सक्ने बताएका हुन् । ‘यसैले देशलाई गम्भीर संकटबाट निकास दिन १५ वटा वामपन्थी शक्तिहरूको एकता भएको हो । अरूको भन्दा ठुलो पार्टी बनाउनका लागि मात्र हैन,’ नेता गजुरेलले भने ।

नेकपा कोशी प्रदेशका इन्चार्जसमेत रहेका नेता गजुरेलले २३ र २४ भदौपछि उत्पन्न संकटबाट राष्ट्रलाई जोगाउने एक मात्र उपाय भनेको निर्वाचन मात्र भएको बताए । उनले निर्वाचन नभए देशमा अझै गम्भीर संकट उत्पन्न हुने बताए । 

नेता गजुरेलका अनुसार नेकपाको एकीकरण अझै पूरा भैनसकेको र पूरा भैसकेपछि अझै ठुलो र सकारात्मक सन्देश जाने बताए। 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्रकुमार राईले यो समय चुनावमा गएर देशको सुरक्षा गर्ने समय भएको बताउँदै उत्तेजनामा आएर घृणा फैलाउने, अराजक व्यवहार देखाउन नहुने सुझाव दिए । उनले जेन–जी आन्दोलनपछि चुनावको महत्व बुझेर नै राष्ट्रपतिले पनि स्वीकार गरेको र नेकपाले पनि जोडतोडले साथ दिइरहेको प्रस्टयाए ।

नेकपाले सुदूरपश्चिमबाट १२ मंसिरदेखि सुरु गरेको एकता सभा १५ मंसिरमा विराटनगरमा आयोजना गर्दै छ । त्यसका लागि सबै तयारी पूरा भैसकेको नेकपा नेता सरिता खड्काले जानकारी दिइन् ।
 

सुझावित समाचार