विवादबिच सकियो धनकुटामा एमाले महाधिवेशन प्रतिनिधि छनोट

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधि छनोटको लागि धनकुटामा विवादका बिच निर्वाचन सम्पन्न भएको छ। धनकुटाका सातै पालिकाका ६० वटै वडाहरूमा निर्वाचन सम्पन्न भएको एमाले धनकुटाले जनाएको छ। 

महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनोट हुनेछन्। जसमध्ये दलित कोटाबाट एकजना सर्वसम्मत निर्वाचित भएका छन्। प्रतिनिधि छनोटको विषयमा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राई र नेता इन्द्रमणि पराजुलीको पक्षबिच विवाद भएको थियो। दुवै पक्षले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका थिए। सहमतिको अन्तिम प्रयास गर्दा पनि असफल भएपछि लोकतान्त्रिक प्रक्रियालाई अपनाउँदै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म धनकुटाका सातै पालिकामा निर्वाचन सम्पन्न भएको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभागका प्रमुख रविन कटेलले बताए। अहिले मतपेटिका संकलनको काम भइरहेको र भोलि बिहान ७ बजेदेखि मतगणना सुरु गरिने प्रचार तथा प्रकाशन विभाग प्रमुख कटेलले जानकारी दिए।

यसैबिच प्रतिनिधि छनोट प्रक्रियामा असन्तुष्ट बनेको नेता इन्द्रमणि पराजुली पक्षका केही कार्यकर्ताले पार्टी अध्यक्ष शिव आङ्ला, उपसचिव नैन विश्वकर्मालगायतलाई अभद्र व्यवहार गरेको एमाले धनकुटाले जनाएको छ। 

सुझावित समाचार