देउवालाई कांग्रेस नेता आचार्यको आह्वान : सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर महाधिवेशन गराउनुहोस्

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस नेता महेश आचार्यले नयाँ पुस्ताको आन्दोलनपछि उठेका मुद्दालाई सम्बोधन गर्न अनि युगीन चेतना र आकाङ्क्षालाई पूरा गर्न कांग्रेसले नयाँ नेतृत्व, कार्यशैली र व्यापक नीतिगत सुधार गर्न जरुरी भएको बताएका छन् । जसका लागि उनले सभापति देउवालाई सत्ता राजनीतिबाट तत्काल विश्राम लिन आह्वान गरेका छन् । उनले कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न देउवाले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत वक्तव्य राख्दै उनले पार्टीभित्र किन प्रत्युत्पादक अलमल किन भइरहेको छ भनेर प्रश् गरेका छन् । 


यस्तो छ नेता आचार्यको वक्तव्य
आदरणीय सभापतिजी, नेपाली कांग्रेस, सादर जयनेपाल ! तपाईमाथी भएको सांघातिक आक्रमणको केहि समयपछि भानुभाईलाई तपाईंको स्वास्थ्य स्थिति र भेट्ने सम्भावनाबारे सोधेको थिए । परिस्थितिबस भेट हुन सकेन । राष्ट्रिय राजनीतिको गम्भीर संकटको बेला पार्टीको वर्तमान अवस्था र निर्णयहिनताले क्षुब्ध बनाएकाले आज यो सार्वजनिक अनुरोध गर्दैछु । झण्डै पाँच दशकदेखिको तपाईंसँगको मित्रवत् सम्बन्ध संझिएर यो अनुरोध गर्दैछु । चिन्ताग्रस्त मेरो मनमा बारम्बार यो प्रश्न उठिराखेको छ सभापतिजी, पार्टीभित्र आखिर यो प्रत्युत्पादक अलमल किन ? 

तपाईंको कार्याकाल अब केहि सातामै सकिँदैछ, विधानले फेरि सभापति बन्न दिँदैन् । के तपाईं पुनः प्रधानमन्त्री बन्न चाहनु हुन्छ ? कसको सहयोगमा ? (ओलीजीको जो आफनै पार्टीभित्र विवादको भुँवरीमा र राज्यका निकायबाट अनुसन्धानको घेरामा हुनुहुन्छ वा प्रचण्डजीको विश्वासमा जो गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय हुनुहुन्छ । यदि यी चाहना छैनन भने आफ्नो उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा भने कृपया नफस्नुहोस, यस्तो सोचलाइ देशले, समयले र कांग्रेस राजनीतिले स्वीकार्दैन । उदार चित्तले सोच्दा पार्टी राजनीतिमा अब तपाईंका कुनै निजी स्वार्थ बाँकी छैनन् केवल देशको प्रगति र एकताको चाहना अनि पार्टीको गौरवशाली इतिहास र लाखौं कांग्रेसजनको संघर्ष र समर्पणको कीर्तिको रक्षा गर्नुनै तपाईंको संघर्षपूर्ण जीवनको ध्येय बन्न पुगेको छ भन्ने मलाई लाग्छ ।

कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न तपाईंले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी देख्दछु । यो सत्य हो कांग्रेसभित्र तपाईंको जत्रो अग्लो कद अहिले अरु कसैको छैन । त्यसैले कांग्रेसको संकटमोचन गर्न समयले तपाईंकै त्याग र उदारता खोजेको छ ।

हस्तिनापुर साम्राज्यको आजीवन रक्षा गर्ने प्रतिज्ञा गरेका भीष्मले प्रतिज्ञा पालन गर्ने नाममा अनि ज्ञान र तप साधनाको ओजस्वितालाई गुरु द्रोणाचार्यले नुनको सोझो गर्ने नाममा दुर्योधनको अधर्मी र अत्याचारी शासनको रक्षा गर्न उभिदा यी मानिसद्वारा परिवर्तन हुँदै गरेको नयाँ युग, त्यो युगको चेतना र तिनका नायकलाई रोक्ने गम्भीर गल्ती भयो । फलस्वरुप महाभारतको विध्वंस हुनपुग्यो । अहिले हाम्रो देशमा युगले कोल्टे फेर्दैछ । नयाँ युग चेतना र नायक जन्मदैछन् । तिनको पदचाप र ध्वनि सुन्न जरुरी छ ।

आदरणीय सभापतिजी, सुबर्ण शमशेरजीको सभापतित्वको कार्यकाल असाधारण थियो । समाजवादलाई पार्टीको आर्थिक कार्यक्रम स्वीकार गर्नेदेखि विशेष अधिवेशनको माध्यमबाट राष्ट्रिय राजनीतिको गतिरोध चिर्ने सम्मका घटनामा उहाँको सुझबुझ असाधारण थियो । त्यसबेला २००७ सालको शाही घोषणाले वाचा गरेको विधान परिषद्को चुनाव अनिश्चित पारिएको थियो । क्रान्तिका वास्तविक नायक बीपीलाई सत्ताबाट लगातार बाहिर राख्ने षडयन्त्र थियो, कहिले राजाको प्रत्यक्ष शासन कहिले प्रधानमन्त्री फेरिरहने प्रयोगबाट चुनाव सात वर्षसम्म रोकिएको थियो । देशको यो अन्योल चिर्न तत्काल चुनावको घोषणा र चुनाव गराउन सक्ने कांग्रेस नेतृत्वको सरकार राष्ट्रकै एजेण्डा बनेका थिए ।

राष्ट्रका यिनै मुद्दालाई पार्टीको एजेण्डा बनाएर कांग्रेसले २०१४ सालमा पार्टीको विशेष अधिवेशन द्वारा घोषणा गरेको देशब्यापी सत्याग्रहको बलमा २०१५ सालको आम निर्वाचन सम्भव गराएको थियो । यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न श्रध्देय सुवर्णशमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिनु भएको थियो । आज फेरि राष्ट्रमा नयाँ पुस्ताको आन्दोलनपछि उठेका मुद्दालाई समेत सम्बोधन गर्न अनि युगीन चेतना र आकाङ्क्षालाई पूरा गर्न कांग्रेसले नयाँ नेतृत्व, कार्यशैली र व्यापक नीतिगत सुधार प्रस्तावित गर्न जरुरी भएको छ । जसका लागि तपाईंको निर्णायक अग्रसरता तपाईंको राजनैतिक जीवनको महत्वपुर्ण उपलब्धि हुनेछ।

सुझावित समाचार