भवन अभावका कारण पठन–पाठन प्रभावित भएपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, जितपुर बजारस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले शुक्रबार उपमहानगरपालिका कार्यालयको गेटमै बसेर ५४ मिनेटको कक्षा सञ्चालन गरेका छन्।
वर्षौंदेखि निर्माणाधीन रहेको विद्यालय भवन समयमै नबन्दा विद्यार्थीहरू कठिन परिस्थितिमा पढ्न बाध्य भएको भन्दै उनीहरूले सांकेतिक विरोधस्वरूप कार्यालयमै कक्षा सञ्चालन गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहका अनुसार निर्माणकार्य लामो समयदेखि रोकिएपछि कक्षाकोठाको अभाव तीव्र बन्दै गएको छ। वर्षौंदेखि भवन नबन्दा विद्यार्थीहरू कष्टकर अवस्थाबाट पढ्न बाध्य छन्। उनले भने, 'भवन निर्माणको प्रक्रिया अघि बढाउन दबाब दिन हामी यहाँ आएर कक्षा सञ्चालन गरेका हौँ।'
विद्यार्थीहरूले पनि कक्षाकोठा अभावले सिकाइमा ठुलो नकारात्मक प्रभाव परेको गुनासो गरेका छन्। विद्यालयकी छात्रा खुश्बु गुप्ताले भनिन्, हामीसँग भवन छैन, शिक्षक संख्या पनि कम छ। यही समस्या नगरपालिकालाई जानकारी गराउन आएका हौँ। उनीहरूले नगरपालिकाले तत्काल समस्या समाधानका लागि प्रभावकारी पहल गर्न माग गरेका छन्।
विद्यार्थी तथा शिक्षकहरूको यो कदमले स्थानीय तहको ढिलासुस्तीप्रति असन्तुष्टि झल्काएको छ भने विद्यालय भवन निर्माण चाँडै सम्पन्न गर्न सम्बन्धित निकायमा दबाब पनि आएको छ।