नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा ताप्लेजुङमा प्रतिनिधि चयन सर्वसम्मत भएको छ। सुरुवातमै खुलातर्फ धेरै उम्मेदवार परेपछि प्रतिस्पर्धा हुने देखिए पनि अन्तिममा महाधिवेशन प्रतिनिधि सहमतिमै चुनिएका छन्।
संस्थापक र इतरसमूह दुई धारमा विभाजित महाधिवेशन प्रतिनिधिका लागि दुवै पक्षबिच सहमति जुटेपछि अन्ततः सर्वसम्मत भएको हो। पछिल्ला केही दिनको छलफलपछि दुवै पक्ष उम्मेदवार फिर्ता गरी १२ प्रतिनिधि सर्वसम्मत रूपमा पठाउने समझदारीसँगै प्रतिनिधि चयन भएका हुन्।
शुक्रबार पत्रकार सम्मेलनमार्फत सर्वसम्मत प्रतिनिधि चयन हुनेमा खुलातर्फ अनन्त साँवा, घनेन्द्र मादेन, दीपेन्द्र पोमू, प्रकाश राई (कैलास), छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावती रहेका छन्। महिलातर्फ टीका सुवेदी भट्टराई, रनमाया गुरुङ, प्रमिला खनाल घिमिरे र मीना केदेम रहेका छन्। दलिततर्फ बुद्धिमान परियार र युवातर्फ गोपाल न्यौपाने सर्वसम्मत भएको पत्रकार सम्मेलनमा निर्मचन संयोजक राम चुडालले जानकारी दिए।
निर्वाचन समितिले आधिकारिक रूपमा घोषणा गरेसँगै निर्वाचित प्रतिनिधिहरूलाई प्रमाण-पत्रसमेत वितरण गरेको छ। नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका केशी प्रदेशका माननीय सांसद तीलकुमार मेन्याङ्बोले महाधिवेशनलाई एकता प्रदर्शनको अवसरका रूपमा सर्वसम्मत गर्न सफल भएको बताए।
प्रतिनिधि चयन प्रक्रिया ताप्लेजुङमा आन्तरिक समायोजन र सहमतिमै टुंगिएको छ।