मौसम फेरिँदा यी कुरामा ध्यान दिऔँ

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

अहिले मौसम परिवर्तनको समय हो । यतिवेला सतर्कताका उपाय अवलम्बन गर्न जरुरी छ । जाडो सुरु भएसँगै धेरैमा फ्लुको संक्रमण देखिने गरेको छ । यस संक्रमणका कारण टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायत हुन्छ । कतिपय अवस्थामा यसले निमोनियाजस्ता स्वास्थ्य जटिलता पनि निम्त्याउन सक्छ । त्यसैले ब्याक्टेरियल र भाइरल इन्फेक्सन छुट्याउन अस्पताल जानुपर्छ । ब्याक्टेरियल इन्फेक्सन भएमा लक्षणअनुसार चेकजाँच गरेर औषधि सेवन गर्नुपर्ने हुन्छ । अहिले जाडो बढ्दै गएकाले धेरै मानिस फोक्सो र घाँटीमा हुने इन्फेक्सनको समस्या लिएर आउने गर्छन् । पिनासको समस्या पनि हुन्छ । मुटु, दम, प्रेसर, सुगर, थाइराइडलगायत दीर्घरोगी, वृद्धवृद्धा, गर्भवती र बालबालिकाको रोगप्रतिरोधी क्षमता वयस्कहरूको दाँजोमा कमजोर हुन्छ ।  

बच्ने उपाय 

- मास्क लगाउने, साबुनपानीले हात धुने, खोक्दा रुमाल प्रयोग गर्ने वा हातको बाहुलाले छोपेर खोक्ने गर्नुपर्छ । पिनासको समस्या हुनेहरू धुलोबाट बच्नुपर्छ । 

- कोल्ड डायरिया पनि हुन सक्छ । विशेषगरी, बच्चामा यो समस्या देखिन्छ । जाडो याममा झाडापखाला देखिनुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये दूषित पानीको प्रयोग मुख्य कारण हो । अर्काे कारण रोटा भाइरस पनि हो । यसबाट बच्नका लागि बालबालिकालाई रोटा भाइरसको खोप लगाउनुपर्छ । बालखोप कार्यक्रमअन्तर्गत अहिले नेपाल सरकारले रोटा भाइरसको खोप बालबालिकालाई लगाइदिने गरेको छ ।

- मौसम परिवर्तनको समयमा देखिने अर्को समस्या स्क्रब टाइफसको हो । यो रोग लागेपछि उच्च ज्वरो आउने, शरीरमा रातो–रातो दाना देखिने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिनेलगायत लक्षण देखिन्छन् । 

जाडोमा जोर्नी दुख्ने 
समस्या पनि धेरैमा देखिन्छ । यस्तो समस्याबाट बच्न शरीर तथा पैतालालाई न्यानो बनाइराख्नुपर्छ । 

- वयस्कहरूमा प्रतिरोधी क्षमता बढी हुन्छ । त्यही कारण बुढाबुढी र बालबालिकालाई चाँडो समात्ने र फ्लु देखिने हुन्छ, जस्तै– ज्वरो आउने, रुघा लाग्ने, एलर्जी, कोल्ड कफ ।

- जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ । बाइकमा हिँड्नेहरूको छातीमा सीधा असर गर्ने भएकाले चेस्ट गार्ड लगाउन जरुरी हुन्छ । रातको समयमा बालबालिका र वृद्धवृद्धालाई न्यानो हुने गरी राख्नुपर्छ । आवश्यक काम नपरी बाहिर हिँडडुल गर्न हुँदैन । त्यस्तै, हुस्सु लाग्ने र शीत पर्ने मौसममा बिहान सबेरै मर्निङ वाकमा जानु पनि राम्रो हुँदैन । बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा रगत पम्प गर्न गाह्रो हुन्छ । यसले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

- चिसोमा धेरै हिँडडुल गर्दा सावधानी अपनाउनुपर्छ । न्यानो कपडा लगाउनुपर्छ । धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । यसले विभिन्न समस्या निम्त्याउन सक्छ । झोलिलो खानेकुरा तथा सागसब्जी प्रशस्त खानुपर्छ । डिप फ्रिजमा राखिएका मासु तथा अन्य खाद्यान्नको प्रयोग कम गर्नुपर्छ । फ्रेस खानेकुरा खानुपर्छ । दूषित पानीबाट झाडापखालालगायत संक्रमण फैलने भएकाले उमालेको वा स्वच्छ पानी मात्रै पिउनुपर्छ ।

- निरन्तर ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा अर्थात् अक्सिजन लेभल घटेमा तत्कालै बिरामीलाई अस्पताल लैजानुपर्छ ।  तातो तथा झोलिलो सुप खानु आवश्यक हुन्छ । बदामले पनि शरीरलाई न्यानो प्रदान गर्छ । तातो सुपले पानीको आवश्यकता पूरा गर्छ । ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ ।

- तातो पानीमा मह मिसाएर खाने हो भने शरीरमा ताप प्रदान गर्छ । स्वस्थकर खानेकुरामा जोड दिनुपर्छ । शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा आवश्यक पर्छ । घरबाट निस्किएसँगै मास्कको प्रयोग गर्नुपर्छ । यसले भाइरस संक्रमणबाट बचाउन मद्दत गर्छ  ।

- व्यायाममा जोड दिनुपर्छ । जसले  शरीर फुर्तिलो बनाउन सहयोग गर्छ । शरीरलाई आवश्यक पर्ने भिटामिन डीयुक्त खानेकुरा दुध, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खानुपर्छ । भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ राख्न भूमिका खेल्छ ।

शाह वरिष्ठ फिजिसियन हुन् ।

सुझावित समाचार