रेलवेको क्लर्कदेखि बलिउडको ‘हि–म्यान’सम्म

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
  • रेलवेमा क्लर्क हुँदै बलिउडको ‘हि–म्यान’को उपाधि पाएका धर्मेन्द्रका जीवनका धेरै पाटा यस्ता छन्, थाहा पाउँदा जोकोही आश्चर्यमा पर्छन् ।

एकपछि अर्को चर्चित कलाकारलाई गुमाउनुपर्दा बलिउड यतिबेला शोकमा छ । २४ नोभेम्बरका दिन बलिउडका ‘हि–म्यान’ धर्मेन्द्रले अन्तिम श्वास फेरे । झन्डै नौ दशक सानदार जीवन जिउनु सामान्य विषय होइन । त्यसमा पनि बलिउडका ती सेलिब्रेटी जसको अभिनय र सुन्दरता प्रख्यात थियो । उनको निधनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे,‘भारतीय सिनेमामा एउटा युगको अन्त्य भएको छ ।’ 

चर्चित भारतीय अभिनेता अमिताभ बच्चन धर्मेन्द्रलाई गुमाउनुपर्दा निकै भावुक छन् । ‘शोले’ र ‘चुपके चुपके’ जस्ता क्लासिकल सिनेमामा सहकार्य गरेका अमिताभले लेखे,‘अर्का एक बहादुर दिग्गजले हामीलाई छोडेर गएका छन् । असह्य आवाजसहितको मौनता छाडेर ।’ अमिताभ र धर्मेन्द्रले ‘शोले’ मा अभिनय गरेको ‘ए दोस्ती हम नहीँ तोडेंगे...’ आज पनि उत्तिकै लोकप्रिय छ ।

रेलवेमा क्लर्क हुँदै बलिउडको ‘हि–म्यान’ को उपाधि पाएका धर्मेन्द्रका जीवनमा धेरै पाटा यस्ता छन्, जो कोही थाहा पाउँदा आश्चर्यमा पर्छन् । सन् १९६० मा अर्जुन हिंगोरानीद्वारा निर्देशित ‘दिल भी तेरा हम भी तेरे’ बाट उनले फिल्मी करियर सुरु गरेका थिए । ‘इक्किस’ चाँडै प्रदर्शनमा आउन लागेको चलचित्रसहित उनले बलिउडमा तीन सयभन्दा धेरै सिनेमा अभिनय गरेका छन् । ६५ वर्ष बलिउडमा बिताएका धर्मेन्द्रले राजनीतिमा पनि हात हाले । उनी एक कार्यकाल भारतीय जनता पार्टीबाट सांसद पनि भए । तर त्यसले उनलाई आकर्षित गर्न सकेन । अभिनेता, निर्माता, निर्देशक, कवि जस्ता छवि बनाएका धर्मेन्द्रको जीवनभर दुई विवाह र दुई धर्म सधैँ चर्चामा रह्यो ।

हेमा मालिनीसँग बिहे गर्न इस्लाम धर्म अंगाले 
बलिउडमा दुई विवाह गर्ने कलाकार धेरै छन् । तर तीमध्ये धर्म सिंह देवल अर्थात् धर्मेन्द्रको बिहे भने निकै चर्चित छ । यसको कारण हो दुवै परिवारका सन्तान बलिउडमा स्थापित हुनु । पञ्जावका धर्मेन्द्रको पहिलो पत्नी प्रकाश कौर हुन् । उनीबाट दुई छोरा र दुई छोरी जन्मे । धर्मेन्द्रका छोरा सनी देवल र बबी देवल आज पनि बलिउडमा क्रियाशील छन् । चार सन्तान हुँदाहुँदै धर्मेन्द्र बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनीसँग मोहित हुन पुगे ।

सन् १९७० मा धर्मेन्द्र र हेमा मालिनीबीच पहिलोपटक ‘तुम हसीन मै जवा’ सिनेमा खेल्ने क्रममा भेट भएको थियो । हेमा मालिनी आफ्नो जमानाकी आकर्षक अभिनेत्री मानिन्छिन् । उनमा सौन्दर्य र अभिनयको अनौठो संगम रहेको भनिन्थ्यो । 

निर्देशक एवं अभिनेता राज कपूरको चलचित्र ‘सपनोका सौदागर’ बाट हेमाले ‘ड्रिम गर्ल’को उपमा पाएकी हुन् । त्यसपछि उनले ‘जानी मेरा नाम’, ‘अन्दाज’, ‘सीता और गीता’ हुँदै ‘शोले’ चलचित्र खेलिन् । सन् १९७५ मा प्रदर्शनमा आएको राज शिप्पीको ‘शोले’ मा धर्मेन्द्रले वीरु र हेमा मालिनीले बसन्तीको भूमिका गरेका थिए । जसलाई कालजयी चरित्रका रूपमा लिइन्छ । हेमा र धर्मेन्द्रको अनस्क्रिन जोडी एकदमै रुचाइयो । त्यसपछि दुवैको अफस्क्रिन रोमान्स पनि सँगसँगै चल्यो । कतिसम्म भने ‘शोले’ को हेमालाई बन्दुक चलाउन सिकाउने दृश्यका लागि धर्मेन्द्रले तीसौंपटक रिटेक लिएका थिए । उनले स्पटब्वायलाई त्यतिबेला दुई हजार भारु दिएको बताइन्छ । हेमाको सुन्दरतामा धर्मेन्द्र यसरी मोहित भएका थिए ।

धर्मेन्द्रले हेमासँग धर्म र नाम बदलेर विवाह गरेका थिए । किनभने यसअघि धर्मेन्द्र विवाहित थिए । हेमा मालिनीकी आमा जया चक्रवर्ती आफ्नी छोरीलाई धर्मेन्द्रसँग विवाह गराइदिने पक्षमा थिइनन् । दुवै आपसमा भेटघाट गरेको पनि उनलाई मन पर्दैनथ्यो । हेमा मुस्लिम परिवारकी छोरी थिइन् । धर्मेन्द्रले अर्को विवाह गर्नकै लागि इस्लाम धर्म अंगाले र नाम राखे दिलावर खान । हेमासँग बिहे गरे पनि धर्मेन्द्रले पहिलो पत्नी प्रकाश कौरलाई छाड्न चाहँदैनथे । सोही कारण उनले हेमासँग पहिलो परिवारबाट अलग नहुने सर्त राखेका थिए, जसलाई हेमाले स्वीकार गरेकी थिइन् । हेमाबाट धर्मेन्द्रका इशा र आहाना गरी दुई छोरी छन् ।

धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गरे पनि देवल परिवार रुष्ट बनेन । किनभने धर्मेन्द्रले दुवै परिवारलाई बराबर समय दिएका थिए । दुई श्रीमतीबाट जन्मेका ६ वटै सन्तान उनलाई निकै मन पराउँथे । हेमा सिनेमासँगै राजनीतिमा सक्रिय छिन् । उनी अहिले पनि बीजेपीबाट सांसद छिन् । धर्मेन्द्रका छोरा सनी देवल पनि बीजेपीबाटै सांसद छन् । तर देखिने गरी मनमुटाव सुनिएको छैन ।

एकै वर्ष सात हिट चलचित्र
धर्मेन्द्रले आफ्नो करियरमा लगभग तीन सय चलचित्रमा अभिनय गरे, तर ‘शोले’ उनको करियरको सबैभन्दा यादगार चलचित्र बन्यो । जसमा उनले वीरूको भूमिका निर्वाह गरेका थिए । ‘शोले’ मा ‘वीरु’ र ‘जय’ को जोडी सबैभन्दा चर्चित रह्यो । धर्मेन्द्र बलिउडका यस्ता अभिनेता हुन्, जसले एकै वर्ष सात सिनेमा हिट दिए ।

सन् १९७३ धर्मेन्द्रको करियरको सबैभन्दा सफल वर्ष थियो । त्यस वर्ष उनी अभिनित ‘लोफर’, ‘झील के उस पार’, ‘जुगनू,’ ‘कीमत’, ‘ज्वारभाटा’, ‘यादों की बारात’, ‘ब्ल्याकमेल’ र ‘कहानी किस्मत की’ रिलिज भए । यी सबै चलचित्र बलिउड फिल्म इतिहासमा सदाबहार मानिन्छन् । यिनै चलचित्रकै कारण हो धर्मेन्द्र बलिउडमा त्यसबेलाका सबैभन्दा सफल अभिनेताका रूपमा चिनिएका । सिनेमामा अभिनयका साथै निर्माणमा समेत हात हालेका उनले छोरा सनी देवललाई बलिउडमा ‘बेताव’ बाट डेब्यु गराएका थिए । ६ मध्ये उनका सनी देवल, बबी देवल र इशा देवल तीन सन्तान सिनेमा क्षेत्रमा चर्चित रहे । आमा–बाबुसमेत सिनेमा क्षेत्रमै क्रियाशील रहेकाले पनि देवल परिवारलाई बलिउडमा ज्यादै सम्मानका साथ लिने गरिन्छ ।

सुझावित समाचार