काबेली इनर्जीको एक अर्ब बढीको संस्थापक सेयर सर्वसाधारणका लागि खुला

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

काबेली इनर्जी कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको संस्थापक शेयर सर्वसाधारणका लागि खुला गरेको छ। शुक्रबार फुङलिङमा आयोजित कार्यक्रममा कम्पनीले संस्थापक शेयर लगानीसम्बन्धी प्रावधान सार्वजनिक गर्दै प्रभावित क्षेत्रका जनतालाई सहुलियतपूर्ण ढंगले सहभागी गराउन विशेष व्यवस्था गरिएको जानकारी दियो ।

कम्पनीका अनुसार ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गर्न पाउनेछन् भने जिल्लाका नागरिकका लागि न्यूनतम् एक लाख रुपैयाँको सीमा तोकिएको छ। लक्ष्यस्वरूप एक अर्ब पाँच करोड रुपैयाँ बराबरको शेयर संकलन भएपछि आवेदन बन्द हुने कम्पनीले बताएको छ। काबेली इनर्जीले ६२.६० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेर आम्दानी गर्ने, बैंक कर्जाको भुक्तानी तथा शेयरधनीलाई लाभांश वितरण गर्ने योजना अघि सारेको छ। निर्माणाधीन आयोजना १५ महिनाभित्र पूरा गर्ने तयारी भइरहेको पनि कार्यक्रममा सार्वजनिक गरिएको छ ।

यसअघि पाँचथरको याङवरक गाउँपालिका–६ पिप्लेमा काबेली बि–१ जलविद्युत आयोजना निर्माण भइ २०७६ कात्तिक २३ गतेदेखि २५ मेगावाट विद्युत नियमितरूपमा राष्ट्रिय ग्रिडमा जोडिएको छ । आफ्नो व्यवसाय विस्तार गर्दै काबेली इनर्जी कम्पनीले बुटवल पावर कम्पनी लिमिटेडसँग साझेदारीमा काबेली नदीमै निर्माण भइरहेको ३७.६० मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना समेत अघि बढाइरहेको छ।

यही आयोजनाका लागि संस्थापक सेयर निष्कासन गरिएको हो। कम्पनीका अनुसार अरुण काबेली पावर कम्पनी लिमिटेड अन्तर्गत इँवाखोला र काबेली नदीमा गरी सातवटा जलविद्युत आयोजना अघि बढ्नेछन्। काबेली ए आयोजना निर्माणका लागि ७ अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा कुमारी बैंकको नेतृत्वमा ४ अर्ब ५१ करोड रुपैयाँ कर्जा रहनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ३ अर्ब १ करोड रुपैयाँ स्वपूँजी रहने कम्पनीले जनाएको छ।
 

सुझावित समाचार