आराम गरिरहेका देउवा सक्रिय हुँदा पनि कांग्रेस महाधिवेशन अन्योलमै

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा. शेखर कोइरालासहित नौ नेतासँग शुक्रबार देउवाले गरेको छलफल निष्कर्षविहीन, नेताहरू शनिबार २ बजे फेरि छलफलमा जुट्ने

वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपछि कार्यकारी भूमिकाबाट दूरी बनाएर बसेका सभापति शेरबहादुर देउवा पुन: सक्रिय हुँदा पनि कांग्रेसको महाधिवेशन मिति विवाद टुंगिन सकेको छैन । पार्टीको १५औँ महाधिवेशन आगामी २१ फागुनको निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा उत्पन्न विवाद समाधान गर्न देउवाले शुक्रबार नौजना शीर्ष नेतासँग गरेको छलफल पनि निष्कर्षविहीन भएको छ । 

महाधिवेशन मिति टुंग्याउन आइतबारका लागि सरेको केन्द्रीय समिति बैठकअघि सहमति खोज्न सभापति देउवाले शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा. शेखर कोइरालासहितको बैठक राखेका थिए । तर, संस्थापन र महामन्त्रीद्वयले ल्याएको एक अर्को प्रस्तावमा सहमति नभएपछि शनिबार दिउँसो २ बजे पुन: देउवानिवासमा बैठक बस्ने र सहमतिको प्रयास गर्ने नेताहरूबिच समझदारी छ । 

शुक्रबारको अनौपचारिक बैठकमा सहमतिका आधारमा पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने वा केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय लिनेबारे छलफल भएको थियो । सभापति देउवाले विशेष महाधिवेशनमा जान नहुने स्पष्ट पार्दै सहमतिका आधारमा अघि बढ्ने उपाय खोज्न नेताहरूलाई अनुरोध गरेका थिए । ‘विशेष महाधिवेशन नगरौँ । बाँकी के गर्नुपर्छ मिलाऊँ । पार्टी एक भएर चुनावमा जानुको विकल्प छैन,’ देउवाले बैठकमा राखेको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने । 

बैठकमा नियमित महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्नेमा नेताहरूले मिश्रित धारणा राखेका थिए । महामन्त्री थापाले नियमित महाधिवेशनका लागि संस्थापन पक्षले आलटाल गर्दै आएको भन्दै विशेष महाधिवेशन निर्विकल्प रहेको बताएका थिए । 

थापाले नियमित महाधिवेशन पुसभित्र गर्न सकिने आधार कमजोर हुँदै गएको, संस्थापन पक्षले आलटाल गर्दै आएको भन्दै अब विशेष महाधिवेशनमा जानैपर्नेमा जोड दिएका थिए । कार्यतालिका ल्याउने, तर महाधिवेशन नगर्ने मनसायले पार्टीमा संकट थप्ने उनको भनाइ थियो । उनले विशेष महाधिवेशन पक्षधरबारे संस्थापन पक्षका नेताहरूलाई जवाफ दिँदै भने, ‘म उहाँहरूको जिम्मा लिन सक्दिनँ । पार्टीले विधानअनुसार निर्णय गरेर जानुपर्छ ।’ 

देउवानिवास महाराजगन्जमा आयोजित छलफलमा देउवासहित कार्यवाहक सभापति खड्का, नेता डा. कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए ।

बैठकमा उपसभापति गुरुङ, महामन्त्री शर्मा, नेता कोइराला र लेखकले पुसका लागि महाधिवेशनको कार्यतालिका ल्याएर सहमति कायम गर्न प्रस्ताव गरेका थिए । पुसभित्र महाधिवेशनको कार्यतालिका आएमा विशेष महाधिवेशनका लागि हस्ताक्षर दर्ता गराएका पक्षलाई सम्झाउन सकिने उनीहरूको भनाइ थियो । 

‘पुस मसान्त नियमित महाधिवेशन मिलनविन्दु बन्न सक्छ । सबै नेता साथीहरूले आ–आफ्नोतर्फबाट सकारात्मक भूमिका निर्वाह गरौँ भनेका छौँ । सभापतिज्यूको निवासमा आज (शुक्रबार) भएको अनौपचारिक बैठक केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ,’ उपसभापति गुरुङले बैठकपछि भनेका छन् ।

नेताहरू निधि र सिटौलाले एक वर्ष केन्द्रीय समितिको म्याद थपेर वैशाखमा नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूको भनाइ थियो, ‘निर्वाचन नजिक आइसकेको छ । अहिलेको निर्वाचन सामान्य प्रकारको होइन, क्षतिग्रस्त संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्नेछ । चुनावलाई प्रभाव पर्ने गरी विशेष वा नियमित महाधिवेशन नगरौँ ।’

मंसिर मसान्तपछि कांग्रेसको सात निकायको म्याद सकिँदै छ । कांग्रेसमा वडा, नगर/महानगर, प्रदेश सभा क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न अब समय नपुग्ने संस्थापन पक्षका नेताहरूको भनाइ छ । महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा सात तहको नभएर वडा, संघीय निर्वाचन क्षेत्र र केन्द्रको गरी तीन तहको अधिवेशन १९ पुसभित्र गर्न प्रस्ताव गरेका थिए । तर, संस्थापन पक्षका नेताहरूले भने म्याद सकिएका सबै तहमा अधिवेशन गर्नुपर्ने र नेतृत्व चयन गर्दै केन्द्रको नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । वडा अधिवेशनअघि क्रियाशील सदस्यता टुंग्याउन पनि समय लाग्ने संस्थापन पक्षका नेताहरूको भनाइ छ ।

महामन्त्रीद्वय थापा र शर्माले भने अहिले सात तहको अधिवेशन गर्ने समय नभएकाले तीन तहको अधिवेशन गरेर नेतृत्व परिवर्तनमा जोड दिँदै आएका छन् । संस्थापन पक्षले महाधिवेशन टार्न खोजेको र आसन्न निर्वाचनमा उनीहरूलाई फाइदा पुग्ने गरी टिकट वितरण गर्ने मनसाय राखेको इतर समूहको आरोप छ ।

संस्थापन पक्षले भने अपमानजनक रूपमा नेतृत्वबाट देउवालाई हटाएर पार्टी कब्जा गर्ने प्रयास भएको आरोप लगाउँदै आएको छ । दुई पक्षको नेतृत्व तहको मतभेदका कारण केन्द्रीय समितिको बैठक हुन सकेको छैन । 

सभापति देउवाले बिहीबार पनि आफूनिकट १७ जना नेता तथा महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए । संस्थापन पक्षमा पनि पुसभित्र महाधिवेशनको कार्यतालिका ल्याएर पार्टीमा सहमति र एकताको सन्देश दिनुपर्नेमा नेताहरूले जोड दिँदै आएका छन् । 

विशेष महाधिवेशन पक्षधरले मागे वार्ताको पत्र
विशेष महाधिवेशन हस्ताक्षर अभियानका नेताहरूले पार्टी नेतृत्वसँग वार्ताका लागि औपचारिक पत्र मागेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार बिहान भेट्न आउन अभियानको अगुवाइ गरेका कांग्रेस नेता गुरुराज घिमिरेलाई फोनमा आग्रह गरेका थिए । घिमिरेले संस्थागत औपचारिक व्यवहार गर्न अनुरोध गर्दै छलफलका लागि औपचारिक च्यानलबाट पत्राचार गर्न अनुरोध गरेको विशेष महाधिवेशनपक्षधर युवा नेता बलदेव तिमल्सिनाले नयाँ पत्रिकासँग भने ।

२९ केन्द्रीय सदस्यको जोड : छिटो निर्णय होस् 

पुस मसान्तभित्र नियमित महाधिवेशनका लागि दबाब दिँदै आएका संस्थापन पक्षनिकट २९ केन्द्रीय सदस्यले पार्टीलाई अनिर्णयको बन्दी नबनाउन पुन: आग्रह गरेका छन् । उनीहरूको शुक्रबार बसेको बैठकले तत्कालै निर्णयमा पुग्न नेतृत्वसँग आह्वान गरेका छन् । २८ जना नेताहरूको बैठक बस्दै आएकोमा शुक्रबार उमा रेग्मी अधिकारी थपिएको नेता उदयशमशेर राणाले बताए । ‘विवाद छिटो अन्त्य गरेर महाधिवेशनबारे पार्टीले निर्णय गर्नुपर्यो । अहिलेको गतिविधिले जनतामा नकारात्मक सन्देश गएको छ, यसले हामीलाई फाइदा हुँदैन भनेका छौँ,’ नेता राणाले भने ।
 

सुझावित समाचार