त्रिवि मैदानभित्र ब्याट–बल र बाहिर जीवन बदल्ने प्रतिस्पर्धा

कीर्तिपुरको चौरदेखि बल्खुसम्म साना व्यवसाय गरेका, रोजगारी गुमाएकादेखि नयाँ अवसर खोज्नेका लागि एनपिएल जीवनयापनको नयाँ मैदान

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

एनपिएल सुरु भएपछि कीर्तिपुर रंगशालाबाहिरको खुला चौर र बल्खु क्षेत्र साना–ठुला व्यापारी, बेरोजगार युवा, परिकार बेच्ने महिलादेखि जर्सी–झन्डा बोकेर हिँड्ने व्यापारीसम्मका लागि ‘अस्थायी बजार’ बनेको छ । खेल हेर्न हरेक दिन करिब १५ हजार दर्शक पुग्छन् । रंगशालाछेउमा बसेर सानातिना व्यापार गर्नेहरूले प्रतियोगिताले आफ्नो दैनिकीसमेत बदलिदिएको महसुस गरिरहेका छन् । ‘दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी भएकै छ । भाडा तिर्नुपरेको छैन । अब क्रिकेटपछि पनि अन्य ठाउँमा यही व्यवसाय सुरु गर्ने योजना छ,’ रंगशालाबाहिर ठेलामा खाजा पसल चलाइरहेका प्युठानका धीरज केसीले सुनाए । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला खेलको उत्साहले जति गुञ्जिएको छ, त्यति नै मैदानबाहिरको खुला चौरमा जीवन बदल्ने प्रतिस्पर्धा चलिरहेको छ । मैदानभित्र ब्याट–बलको प्रतिस्पर्धा चलिरहँदा बाहिर भने रोजगारी, आम्दानी र अनेक अवसरको सम्भावना खुलेको छ । कीर्तिपुरको चौरदेखि बल्खुसम्म साना व्यवसाय गरेका, रोजगारी गुमाएकादेखि नयाँ अवसर खोज्नेका लागि एनपिएल जीवनयापनको नयाँ मैदान बनेको छ । जेन–जी आन्दोलनपछि शिथिल बजारमा एनपिएलको रौनक छ ।

नेपाली क्रिकेटको सबैभन्दा चर्चित प्रतियोगिता एनपिएल सुरु भएपछि कीर्तिपुर रंगशालाबाहिरको खुला चौर र बल्खु क्षेत्र साना–ठुला व्यापारी, बेरोजगार युवा, परिकार बेच्ने महिलादेखि जर्सी–झन्डा बोकेर हिँड्ने व्यापारीसम्मका लागि ‘अस्थायी बजार’ बनेको छ । रंगशालाछेउमा बसेर सानातिना व्यापार गरिरहेकाले खेल आयोजनाले आफ्नो दैनिकी बदलिदिएको महसुस गरिरहेका छन् । देश–विदेशका खेलाडीले राजधानीका होटेल पनि भरिएकै छन् ।

प्युठानका धीरज केसीले जेन–जी आन्दोलनले होटेलको रोजगारी गुमाएका थिए । विदेश जाने तयारीमा थिए । तर, कीर्तिपुरमा एक महिनासम्म खेल चल्ने सुनेपछि उनी त्यहीँबाट कमाइ गर्ने योजनामा लागे । उनी भन्छन्, ‘दैनिक पाँचदेखि दश हजारसम्म आम्दानी भएकै छ । भाडा तिर्नुपरेको छैन । अब क्रिकेटपछि पनि अन्य ठाउँमा यही व्यवसाय सुरु गर्ने उनको योजना छ ।’

धीरजजस्तै रोजगारी गुमाएका हातहरू अहिले फस्टाउँदै छन् । उनकोे खाजा पसलको वरिपरि बदाम, जुस, चटपट, चाउचाउ बेच्ने अन्य थुप्रै युवा छन् । कविता कार्कीको जुस–फलफूल पसल पनि चलेकै छ । शिला रावलको चटपट पनि बिकेकै छ । दिनको १५ सयदेखि दश हजारसम्म आम्दानी हुने गरेको उनीहरू सुनाउँछन् । 

गोरखाबाट सुन्तला बोकेर आएका विनोद मुडभरीले दर्शकको भिडभाडमा आफ्नो व्यापार चम्काइरहेका छन् । ‘दर्शकलाई सहज छ, हामीलाई पनि व्यापार छ,’ उनी भन्छन्, ‘व्यापार राम्रो छ । सेवा दिन पनि पाइयो, आम्दानी पनि भयो ।’

आगोले डेढ करोडको व्यवसाय नष्ट भएपछि तनावमै रहेका उनले एनपिएललाई जीवन फिर्ता फर्काउने मौका मानेका छन् । उनी चौरमा दर्शकलाई मिठा परिकार खुवाउँछन् । उनले चिकेन र भेज खानाका परिकार राखेका छन् । ‘के गर्ने ? छोराछोरी पढाउनुपर्छ । विकल्प खोज्दै जाँदा यहाँ आइपुगेँ । अहिले व्यापार फस्टाइरहेको छ,’ उनले भने । 

एनपिएल हेर्न हरेक दिन करिब १५ हजार दर्शक रंगशाला पुग्छन् । अझ दुईवटा खेल भएको दिन दर्शकको घुइँचो लाग्छ । उनीहरूले फुटपाथमा राखिएर खुद्रा पसलमा खानेकुरा किन्छन् । यसो गर्दा साना व्यापारीलाई पनि आम्दानी हुने गरेको हो । पानी, चाउचाउ, बिस्कुट, स्याउ, सुन्तला बेच्नले पनि यहाँ राम्रै आम्दानी गरिरहेका छन् ।

बल्खुमा छ चहलपहल 
एनपिएलले बल्खु बजारलाई निकै चलायमान बनाएको छ । खेल हेरेर फर्कने दर्शकको घुइँचो त्यहाँ पसल–होटेलहरूमा देखिन्छ । यसले व्यवसायी उत्साही छन् । ‘खेल सुरु भएपछि अन्य समयमा भन्दा व्यापार बढेको छ । पहिले २० जना आउने गरेकामा अहिले ७०–८० जना आउँछन् । अधिकांश क्रिकेट हेरेर फर्कनेहरू यहाँ आउँछन्,’ बल्खुस्थित मुख्य सडकछेउमा खाजा पसल चलाएका उत्तम कार्कीले भने, ‘अझ कहिलेकाहीँ त थेगिनसक्नु ग्राहक आउँछन् ।’ 

बल्खुमै फलफूल तथा जुस पसल सञ्चालन गर्दै आइरहेका रामप्रताव ठाकुरले पनि खेल सुरु भएपछि जुस र फलफूलको बिक्री बढेको बताए । त्यस्तै, जर्सी, टोपी र झन्डालगायतको पसल थालेका बल्खुका किसन बस्नेत पनि अहिले खुसी छन् । उनले पनि पहिलेको तुलनामा व्यापार बढेको सुनाए । ‘मैले एनपिएलमै चाहिने सामान राखेको छु । राम्रै व्यापार भइरहेको छ,’ उनले भने ।

तर, कीर्तिपुरको पुरानो बजार भने शान्त छ । रंगशालाबाहिरै पसल लागेकाले दर्शकहरू बजारमै नआएको व्यापारीहरूको गुनासो छ । होटेल व्यवसायी रमेशसिंह बोहरा भन्छन्, ‘यहाँ एनपिएलको खासै प्रभाव परेको छैन । रंगशालानजिकै खुला पसल र खानेकुरा राख्दा खास बजार सुनसान छ । ’

नयाँ बजारकै अर्का होटेल व्यवसायी पुरन केसीले पनि खासै व्यापार नभएको सुनाए । ‘जति व्यापार हुन्छ भन्ने सोचका थियौँ, त्यस्तो भएको छैन,’ उनले भने, ‘क्रिकेट रंगशालाबाहिर जथाभावी राखिएका पसलका कारण बजार क्षेत्र सुनसान भएको हो ।’

यद्यपि, नयाँ बजारमै खाजा र खाना पसल चलाइरहेकी सीता कार्कीले भने क्रिकेट सुरु भएपछि व्यापार बढेको सुनाइन् । ‘खेल हेर्न आएकाहरू यहाँ खाना खान आउँछन्, रंगशालामा काम गर्नेहरू पनि यहीँ खाना खान आएका छन्, यसले सहज पनि भएको छ,’ उनले सुनाइन् । 

तस्बिरहरू : सन्जीव योञ्जन, अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार