पाटन दरबार क्षेत्रमा सातामा दुई दिन सवारीसाधन निषेध

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
पाटन दरबार क्षेत्रमा सातामा दुई दिन सवारीसाधन निषेध

फाइल तस्बिर

ललितपुरस्थित पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध गरिने भएको छ। भोलि शनिबारदेखि लागू हुने गरी ललितपुर महानगरपालिकाले सातामा दुई दिन सवारीसाधन निषेध गर्न लागेको हो।

सम्पदा क्षेत्रमा आउने पर्यटकलाई ओहोरदोहोर गर्न असहज भएको र सम्पदा क्षेत्रमा ‘वाकिङ’ गर्ने बानीको विकास गर्न यस्तो नियम ल्याएको महानगरले जनाएको छ। सुरुमा परीक्षणकाल रूपमा यो नियम सुरु हुनेछ। महानगरपालिकाले सूचना नै जारी गरेर यसबारे जानकारी गराइसकेको छ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको पर्यटन विकास र यहाँ आउने पर्यटकको सहजताका लागि यसो गरिएको बताए। उनका अनुसार ‘पाटन पाइलै–पाइलामा’ भन्ने अभियानअन्तर्गत सवारीसाधन निधेष गरिएको हो। यो प्रभावकारी भएमा थप व्यवस्थित बनाइने मेयर महर्जनले प्रस्ट पारे।

यस क्षेत्रमा स्थानीय र व्यवसायीसँगको सहकार्यमा महानगरले सवारीसाधन निषेध गर्न लागेको हो। ‘सुरुमा हामीले शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोक्ने तयारी गरेका छौँ, यो भोलिदेखि नै लागू हुन्छ, राम्रो भयो भने फेरि समय थप्छौँ,’ उनले भने, ‘अवस्था हेरेर सवारीसाधन बन्द गर्ने समयतालिका हेरफेर पनि हुन सक्छ। निधेष गरिएको समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन रोकिन्छन्।’ आकस्मिक सेवाका सवारीसाधन जस्तै दमकल, एम्बुलेन्सलगायतका सवारीसाधनलाई निर्वाध आवतजावतको व्यवस्था हुने उनले बताए।

यस्तो छ नयाँ नियमका चरणहरू
पहिलो चरण :
 मोमद्गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायण मन्दिरसम्म तथा स्वठ चोकदेखि क्वाल्खु चोकसम्म (मंसिर महिनाको १३, १७ र २० गते दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म र सोही महिनाको २४ र २७ गते बिहान ८ बजे देखि साँझ ७ बजेसम्म) पूर्ण रूपमा सवारीसाधनहरू निषेध हुने।

दोस्रो चरण : तिछुगल्ली तथा मंगलबजार चोकदेखि चक्रबहिल चोकसम्म (पुस महिनाको ५, ९ र १२ गते दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म र सोही महिनाको १६ र १९ गते बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म) पूर्ण रूपमा सवारीसाधनहरू निषेध हुने।

सुझावित समाचार