लामो समयदेखि रोकिँदै आएको हेटौँडाको सडक विस्तारका लागि रेखांकनको काम सकिएको छ । मंसिर २० गतेबाट सडक विस्तार गर्ने गरी बिहीबारबाट सुरु भएको रेखांकनको काम सकिएको हो ।
मुख्य राजमार्गको २५ गज दायाँबायाँ सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको थियो ।
कार्यालयले हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेबाट मार्किङको काम सुरु गरेको हो । बिहीबार र शुक्रबार दुई दिनमा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र बुद्ध चोकदेखि चौकीटोल हुँदै सामरीसम्म रेखांकनको काम सकिएको डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि डिभिजन सडक हेटौँडाले ५ मंसिरमा १५ दिने सूचना जारी गर्दै राजमार्गको दायाँबायाँ अतिक्रमण गरी बनाइएका स्थायी तथा अस्थायी संरचना हटाउन सूचित गरेको थियो । प्रमुख अधिकारीले १९ गतेसम्म स्वैच्छिक रूपमा संरचना हटाउन समय दिइएको बताए । दिइएको समयसीमाभित्र संरचना नभत्काए सडक विभागले कानुनअनुसार संरचना भत्काउने स्पष्ट पारे ।
‘राजमार्गको जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउन यही १९ मंसिरसम्मको सीमा दिएका छौँ । उक्त अवधिमा आफैँले संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन हुन्छ,’ उनले भने, ‘हामीले संरचना हटाउनुपरे त्यसमा लाग्ने खर्च व्यक्ति स्वयंले व्यहोर्नुपछ ।’
राजमार्ग बन्द गरेर संरचना भत्काइने
सडक विस्तारका काम २० गतेदेखि सुरु हुने भएपछि बजारभित्र सवारी आवागमन पूर्णरूपमा बन्द गर्ने तयारी तीव्र भएको छ। सडक विस्तारका क्रममा महत्त्वपूर्ण खण्डमा सवारी आवागमन अवरुद्ध हुने भएकाले वैकल्पिक रूपमा विभिन्न बाइपास मार्ग सञ्चालन गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी तथा प्राविधिक टोलीले चौकीटोलदेखि रातोमाटेसम्मका बाइपास मार्गहरूको अवस्थाबारे निरीक्षण गरेका छन् । निरीक्षणपछि सम्बन्धित सडक खण्डहरू मर्मत गरी २० गतेसम्म बाइपासमार्गबापत प्रयोग गर्न सकिने अवस्थामा ल्याउने तयारी गरिएको छ ।
हेटौँडाबाट काठमाडौं–भैँसे हुँदै झर्ने सवारीसाधनलाई चौकीटोल–राप्ती नदी उकास–त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ लैजाने व्यवस्था मिलाइनेछ भने पूर्व–पश्चिम राजमार्गतर्फ पूर्व जाने सवारीलाई राप्ती किनार भएर रातोमाटे मार्ग प्रयोग गराइनेछ । यस्तै, मदन भण्डारी लोकमार्ग र कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई कमानेबाट रातोमाटे निस्कने गरी बजार क्षेत्रमा सिधै प्रवेश रोक्ने व्यवस्था गरिने भएको छ ।
डिभिजन सडक कार्यालयका प्रमुख अधिकारीका अनुसार २० गते अगावै बाइपास सडकहरूमा भएका अत्यावश्यक मर्मत सम्पन्न गरिनेछ । उनले सडक विस्तारका क्रममा बजारभित्रका मुख्य खण्ड पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्गको तयारीलाई प्राथमिकता दिइएको बताए ।