प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेकी छिन्। रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकी उनले उक्त भ्रमणका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सेनाले गरेको सुरक्षा तयारीबारे जानकारी लिएकी छिन्।
यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।
प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य रहेको बताइन्। सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले विभिन्न निर्देशन दिइन् । ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नुहुँदैन, एकजना पनि घाइते हुनुहुँदैन,’ उनले भनिन् । सुरक्षा संवेदनशीलताका आधारमा समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न पनि उनले सेनालाई सम्झाइन् ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारी उपस्थित थिए ।
निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले दिएका मुख्य निर्देशन :
- जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई विनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु।
- मैले यसअघि पनि भन्दै आएकी छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नुहुँदैन र एकजना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु।
- जेन–जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नुहोस्।