ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन्। बाढीका कारण त्यस क्षेत्रका सडक एवं पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको, तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोलीसहित निरीक्षणमा गएका हुन्।
मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए । अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपत् प्रभावित क्षेत्रको पुनर्स्थापना एवं पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए ।
गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले रोशी गाउँपालिका १, २ र ३ र नमोबुद्ध गाउँपालिका ८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्याएको थियो । त्यस क्षेत्रकाे नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने सम्भावना रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपतमा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ। बाढीले त्यहाँस्थित झोलुंगे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ। बाढीले १० शय्याको आधारभूत अस्पताल पूर्ण रूपमा बगाएको थियो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले विपत् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको, तर सोबमोजिम काम हुन नसकेको उल्लेख गरे।