फोटो नेपालको १००औँ संस्करण सुरु

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल पर्यटन बोर्डको दृश्य–संवाद अभियान ‘फोटो नेपाल’को १००औँ संस्करण सुरु भएको छ । बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले क्यानभासमा कलाकृति सिर्जना गरेर शुक्रबार औपचारिक उद्घाटन गरेका हुन्।

सुष्मा आर्ट ग्यालरीसँगको सहकार्यमा बोर्डले आइतबारसम्म भृकुटीमण्डप परिसरमा फोटो नेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी आयोजना गरेको हो। यस संस्करणमा ४५ भन्दा बढी नेपाली कलाकारसहित रुस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश, घानालगायतका कलाकार सहभागी छन्।

उनीहरूका कलाकृतिहरू नेपाली संस्कृति, प्राकृतिक दृश्य, आध्यात्मिकता, सहरी परिवर्तन र समसामयिकतामा आधारित छन्। यसले नेपाललाई कला पर्यटनको उदीयमान केन्द्रको रूपमा स्थापित गर्न थप योगदान पुर्याउने विश्वास बोर्डले व्यक्त गरेको छ। प्रदर्शनी दैनिक बिहान १०ः३० देखि साँझ ४ः३० बजेसम्म खुला हुनेछ।

बोर्डले एक डिजिटल फोटो पोर्टल ‘फोटो नेपाल’ पनि सञ्चालन गरिरहेको छ, जहाँ नेपालका सुन्दरताहरू र विविधतालाई प्रतिबिम्बित गर्ने तस्बिरहरू अपलोड गर्न र हेर्न सकिन्छ। हालसम्म यो प्लाटफर्ममा ११ हजारभन्दा बढी सदस्यहरूका २५ हजारभन्दा बढी तस्बिरहरू छन्।

प्रसिद्ध स्विस भूवैज्ञानिक डा. टोनी हेगनको फोटोग्राफी प्रदर्शनीसँगै फेब्रुअरी २०१६ मा सुरु भएको ‘फोटो नेपाल’ अभियानले नियमित प्रदर्शनीमार्फत नेपालका प्राकृतिक, सांस्कृतिक र मानव आयामहरू विश्वसामु प्रस्तुत गरेर निरन्तर आफ्नो अभियान जारी राख्दै आएको छ।

सुझावित समाचार