पश्चिम अफ्रिकी राष्ट्र गिनी–बिसाउमा सेनाका अधिकारीहरूले राष्ट्रपति उमारो सिसोको एम्बालोलाई अपदस्थ गरेको घोषणा गरेको एक दिनपछि जनरल होर्टा एनटा ना मानले संक्रमणकालीन राष्ट्रपतिका रूपमा शपथ लिएका छन् ।
‘भर्खरै उच्च कमान्डको नेतृत्वका लागि शपथ लिएको छु,’ मानले एएफपीलाई भने । आफूलाई ‘व्यवस्था पुनस्र्थापनाका लागि उच्च सैन्य कमान्ड’ उल्लेख गर्ने सैन्य अधिकारीले बुधबार एक टेलिभिजन विज्ञप्तिमा एम्बालोलाई पदच्युत गरेको बताएका थिए । एम्बालो र उनका निकटतम प्रतिद्वन्द्वी ४७ वर्षीय उम्मेदवार फर्नान्डो डायसबिचको चुनावी नतिजा घोषणा हुने अपेक्षा गरिएको एक दिनअघि सेनाले कु गरेको थियो ।
बिहीबार राजधानी बिसाउ प्राय: शान्त थियो । रातभरको कफ्र्युमा आममानिस घरभित्रै बसेका थिए । व्यवसाय र बैंकहरू बन्द थिए । यसैबीच, पश्चिम अफ्रिकी देशहरूको समूह इकोवास र अफ्रिकी संघका पर्यवेक्षकहरूले गिनी–बिसाउमा भएको सैन्य कुप्रति चिन्ता व्यक्त गरेका ती संगठनहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।