गण्डकीका दुई विधेयक प्रमाणीकरण

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेशका दुई विधेयक प्रमाणीकरण भएका छन् । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बिहीबार विधेयक प्रमाणीकरण गरेका हुन् । 

प्रमाणीकरण भएका विधेयकहरूमा गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक ०८२ रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जानकारी दिएका हुन् । दुई विधेयकमध्ये खानी २४ कार्तिक र विश्वविद्यालयको २८ कार्तिकमा बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो । 

पारित विधेयक गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले प्रमाणित गरेपछि प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि ९ मंसिरमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख भट्टल पाँच÷ पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका हुन् ।

प्रदेश सभाले पारित गरेको विधेयक सभामुखले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम प्रमाणित गरेर संविधानको धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रमुख भट्टले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको विधेयक ऐन बन्ने कानुनी व्यवस्था रहेको छ ।

प्रमाणिकरण गरेका ती विधेयकहरूमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने बाँकी चारप्रतिमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश सभा सचिवालय, प्रदेशको कानुन हेर्ने मन्त्रालय र संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाउने कानुनी व्यवस्था छ । 
 

सुझावित समाचार