कुनाकाप्चाबाट भगवानका फोटा हटाउँदै युवा

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारी तथा निजी कार्यालय, अस्पताल र विभिन्न सार्वजनिक भवनका कुनाकाप्चा र सिँढीका मोडमा पान, गुट्खा, खैनी खाएर थुक्न नदिन राखिएका भगवानका फोटा युवाहरूले हटाउन थालेका छन्।

सार्वजनिक स्थानका कुनाकाप्चामा भगवानका ठुला–ठुला तस्बिर राखेर पनि थुक, खकार र चुरोटका ढुटाद्वारा फोहोर हुने क्रम रोकिएको थिएन। बरु सबैले पूजनीय मानेका भगवानको अपमान भएको भन्दै विराटनगरका युवाहरूले ती ठाउँमा राखिएका तस्बिर हटाउन थालेका हुन्।

‘फोहोर नियन्त्रण गर्ने नाममा वर्षौँदेखि पूजनीय भगवानका फोटोहरू राखेर उल्टै अपमान गरिएको देख्यौँ,’ विराटनगरका युवा सन्दीप साहले भने, ‘त्यसैले हामी समूह बनाएर देखिएका स्थानबाट फोटो हटाउन थालेका हौँ।’ उनका अनुसार विराटनगरको रानीस्थित आँखा अस्पताललगायत विभिन्न स्थानबाट भगवानका फोटो हटाइसकिएको छ ।

युवा अभियन्ता साहले थपे, ‘सबैका पूजनीय भगवानलाई फोहोर रोक्ने साधन बनाउनुहुँदैन। बरु सिसिक्यामेरा राखेर फोहोर गर्नेहरूलाई तुरुन्त जरिवाना गर्नुपर्छ, सचेतना बढाउनुपर्छ।’

सार्वजनिक संरचनाका कुनाकाप्चामा पान, गुट्खा, खैनी तथा चुरोट खाएर थुक्ने, चुरोटका ढुटा फ्याँक्नेजस्ता क्रियाकलापका कारण अत्यधिक फोहोर हुने गरेको थियो। यही कारण सरकारी तथा निजी संस्थाहरूले फोहोर नियन्त्रणका लागि विभिन्न भगवानका ठुला तस्बिर राख्न थालेका थिए। तस्बिर राखेपछि धेरैले भगवानलाई थुक्नुहुन्न भनेर थुक्न छाडेका पनि थिए।

सुझावित समाचार