संखुवासभा एमालेमा प्रतिनिधि छनोटमा सकस : सातजनाको कोटामा ३१ जनाको उम्मेदवारी

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि संखुवासभामा प्रतिनिधि छनाेट गर्न सकस परेको छ । संखुवासभाबाट महाधिवेशन प्रतिनिधि भएर जान सातजनाको कोटा रहेकोमा त्यसको चौब्बर उम्मेदवारी परेको छ । सातजनाको कोटामा ३१ जनाले उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मत हुने सम्भावना कम रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राईले बताए । उनले हालसम्म दलित कोटामा इन्द्रमाया बराइली मात्रै सर्वसम्मत भएको बताए ।

खुला कोटामा पूर्वअध्यक्ष जितबहादुर घिमिरे र भीम लिंखाले नाम फिर्ता लिएका छन् भने अन्य कोटामा सर्वसम्मत गराउने प्रयास भइरहे पनि सम्भावना न्यून रहेको बताए । यदि सर्वसम्मत हुन नसकेमा निर्वाचन समितिले १३ मंसिर (शनिबार) मतदान गरी प्रतिनिधि छनाेट गर्ने अध्यक्ष राईको भनाइ छ ।

सातवटा कोटामा खुलामा तीन, महिलामा दुई, ४० मुनिको समूहबाट एक र दलितबाट एकजना प्रतिनिधि पठाउनुपर्नेछ । तर, महाधिवेशन प्रतिनिधि छनाेट निर्वाचन कमिटी संखुवासभाले प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावलीमा ३१ जनाको नाम रहेको छ । जसमा खुला प्रतिनिधिमा तीनजना प्रतिनिधिका लागि १४ ले उम्मेदवारी दिएका छन् । खुला सदस्यका लागि भविश्वर गुरुङ, मानसिं पोखरेल, जितबहादुर घिमिरे, सूर्यबहादुर दाहाल, शेरबहादुर कार्की, यादवकुमार अधिकारी, खड्गबहादुर राई, विदुरकुमार लिंथेप, सुमन श्रेष्ठ, मुरारीप्रसाद खतिवडा, मौसम आलेमगर, कमलमणि गौतम र भरतकुमार खत्रीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी महिला प्रतिनिधिका लागि सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी, एलिना श्रेष्ठ, हेमकुमारी चौहान, गोमादेवी कटुवाल र महेश्वरा श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै, युवा ४० वर्षमुनिका प्रतिनिधिका लागि युवराज राई, फुर्वा शेर्पा, टंकप्रसाद दाहाल, सन्दीप घिमिरे, सुजना जोशी, विकास पौडेल, भरत कार्की, ध्रुव खड्का र फुर्वा भोटेले उम्मेदवारी दिएका छन् । त्यसैगरी दलित प्रतिनिधिका लागि टंकबहादुर रोक्का र इन्द्रमाया बराइलीले उम्मेवारी दिए पनि टंक रोक्काले इन्द्रमाया बराइलीलाई छोडेका छन् ।

उम्मेदवारी फिर्ताका लागि मंसिर ९ गते १० देखि ३ बजेसम्मको कार्यतालिका रहेको थियो । तर, कार्यतालिकाभित्र कसैले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन समितिले जनाएको छ । सर्वसम्मत हुन नसकेको खण्डमा मतदात अथवा निर्वाचन मंसिर १३ गते बिहान ८:१५ देखि दिउँसो ३ बजेसम्म प्रत्येक पालिकामा हुने प्रमुख निर्वाचन संयोजक शान्तिकुमार दाहालले जानकारी दिए । 

प्रतिनिधि छनोटका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्यबराबर ४० वर्षमुनिका एक युवा, कम्तीमा एकजना महिलासहित चारजना प्रतिनिधि निर्वाचित हुनेछन् । न्यूनतम १२ सय पार्टी सदस्यमा थप आठ सय सदस्य नाघेमा थप एकजना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप आठ–आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि चुनिनेछन् । त्यसभन्दा बढी भएमा सोही अनुपातमा पहिलो सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि चुनिनेछन्। संखुवासभामा एमालेका तीन हजार ८२ जना पार्टी सदस्य रहेका छन् ।

सुझावित समाचार