पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ४ स्थित मैनावती खोलानजिक बिहीबार मध्याह्न पाँचवटा सवारीसाधन दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय बासिन्दाको समेत सहयोगमा तत्काल उद्धार गरी सातजनालाई गोलबजारस्थित लाइफलङ हस्पिटल र एकजनालाई बर्धमान अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार करिब साढे १२ बजेतिर विपरीत दिशातर्फ जाँदै गरेको माइक्रो बस, हायस र कार ठोक्किँदा आठजना घाइते भएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश १– ००१ ख ०५६७ नम्बरको विंगरले विपरीत दिशातर्फ आउँदै गरेको बागमती प्र. ०१ ००६ ख ७७३६ नम्बरको हायस र बा.२० च ७८४१ नम्बरको कारलाई ठक्कर दिँदा कार र हायसमा रहेका आठजना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेहरूको नाम र ठेगानालगायतको विवरण संकलन भइरहेको छ ।
विंगरले हायस र कारलाई ठक्कर दिएको आधा घण्टा नबित्दै करिब १ बजेतिर पुनः सोही ठाउँमा मालवाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा कार क्षतिग्रस्त भएको छ । प्रहरीका अनुसार पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३९१६ नम्बरको मालवाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३३ च ६०२५ नम्बरको बिवाइडी कार ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर क्षतिग्रस्त भएको छ ।
दुर्घटनापछि पूर्व–पश्चिम लोकमार्ग करिब आधा घण्टासम्म अवरुद्ध बनेको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा सडकबाट दुर्घटनाग्रस्त सवारी हटाइएपछि अहिले पूर्ववत् अवस्थामा यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।