नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । यस्तै, दिलीप नाथले ३१ रन जोडे । ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले तीन–तीन तथा हेमन्त धामीले दुई विकेट लिए ।
अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स तीन खेलमा अपराजित हुँदै ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स तीन खेलमा दुई अंकसहित छैटौँ स्थानमा छ ।
आजका लागि दुई खेल निर्धारण गरिएको छ । पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच भइरहेको छ भने आज अपराह्न ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।