मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएको छ। यादवलाई संविधान मिचेर नियुक्ति गरिएको भन्दै अन्य दलका प्रदेश सांसद तथा कानुन व्यवसायीहरूले रिट दायर गरेका थिए।
सर्वाेच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा मुद्दाको सुनुवाइ हुँदै छ। यसअघि सर्वाेच्चले मुद्दाको अन्तिम सुनुवाइ नहुँदासम्म दीर्घकालीन प्रकृतिका निर्णय नगर्न मधेश सरकारलाई अन्तरिम आदेश दिएको थियो।
गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर सोही दिन बिहान महोत्तरीको एक होटेलमा शपथ खुवाएकी थिइन्। बहुमतको सरकार बनाउने संवैधानिक प्रावधान मिचेर ठुलो दलको संसदीय नेताको हैसियतमा मुख्यमन्त्री नियुक्ति गरेपछि विवाद भएको हो।